मन्त्रालय बाँडफाँडमा असन्तुष्टि जनाउँदै दीपक मनाङेले दिए राजीनामा

गण्डकी प्रदेश सरकारमा सोमबार गरिएको मन्त्रालय बाँडफाँडमा स्वतन्त्र सांसदसमेत रहेका राजीव गुरुङ ‘दीपक मनाङे’ले राजीनामा दिएका छन् ।

आइतबारसम्म भौतिक मन्त्रालय सम्हालिरहेका सोमबारदेखि वन मन्त्रालयमा सरुवा गरिएको थियो ।

नेकपा एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । आइतबार दुई मन्त्रालय फुटाएका मुख्यमन्त्री पाण्डेले सोमबार मन्त्रिपरिषद विस्तार गरी ९ सदस्यीय बनाएका थिए ।

तर यस्तोमा मनाङले भौतिकबाट वनतिर सरुवा गरिएपछि राजीनामा दिएका हुन् । ‘वन मन्त्रालयमा जान्न, बरु त्यो मन्त्रालय भाइहरूलाई दिएको भए हुने नि ! त्यही भएर राजीनामा दिएको हुँ । मैले राजीनामा पत्र सहयोगीमार्फत् मुख्यमन्त्रीकहाँ पठाइसकेँ ।’

एमालेका चार मन्त्रीले शपथ लिँदा मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई यथावत राखेका थिए । तर गुरुङले गतिलो मन्त्रालय नपरेको भन्दै पद छाडेका हुन् ।

एमालेले देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसकै कोटा दिन भनेको थियो । तर पाण्डेले दुई मन्त्रालय फुटाएर एकातिर एमालेलाई मनाएका थिए । अर्कातिर मनाङे र देवकोटालाई पनि साथमै राख्न चाहेका थिए । भौतिक चलाइरहेका मनाङेले वन नलिने घोषणासहित राजीनामा दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *