बारको धर्नाले रोकियो १६ न्यायाधीशको नियुक्ति

‘सर्वोच्चका मुख्य रजिस्ट्रार र न्याय सेवाको सचिव उच्च अदालतमा नियुक्त हुँदा मुख्य न्यायाधीश बनाइने वा मुख्य न्यायाधीश पछि राखिने’ व्यवस्थाले न्याय परिषद् र नेपाल बारबीच विवाद बढेको छ । न्यायाधीश नियुक्तिका लागि आइतबार बोलाइएको न्याय परिषद्को बैठक नेपाल बारका पदाधिकारीको धर्नाले रोकिएको छ ।

एक सातापछि बिदा बस्न लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू जानुअघि न्यायाधीश नियुक्ति सक्न खोजेका छन् । यही प्रयोजनका लागि आइतबार उनले न्याय परिषद्को बैठक डाकेका थिए । तर कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनका पदाधिकारीले परिषद् कार्यालयमा धर्ना दिएपछि बैठक नै बस्न सकेन ।

गत वर्ष असोज १ मा भएको न्याय परिषद् नियमावली संशोधन बदर नभएसम्म धर्ना जारी रहने बारको अडानले न्यायाधीश नियुक्ति कहिले हुने भन्ने अनिश्चित हुन पुगेको छ । ‘परिषद्का अध्यक्ष र सदस्यलाई छिर्न नदिने भनेर नै हामी गएको हो,’ बार अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘माग पूरा नहुञ्जेल अब दिनहुँ धर्ना गरिन्छौं ।’

न्याय परिषद्का सदस्यहरू भने ‘बारले अति गर्‍यो’ भन्छन् । ‘आफ्ना मानिस नियुक्त गर्न नपाएपछि नियमावलीको विवाद झिकेका हुन्, बारले जे भन्यो त्यही गर्न पर्छ भन्ने बाध्यता परिषद्लाई छैन, बरु नियुक्ति रोकिए रोकिन्छ, धर्नासँग सम्झौता गर्ने प्रश्न उठ्दैन,’ एक सदस्यले भने । बार अध्यक्ष घिमिरे भने आफू कसैको नियुक्तिका लागि विरोधमा उठेको नभई संविधानको प्रावधानविपरीत नियमावली संशोधन भएकाले खारेजीको माग सुनुवाइ नभएपछि विरोधमा उत्रिएको बताउँछन् ।

परिषद्ले नियमावलीको नियम ११ मा सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार र न्याय सेवाको सचिव उच्च अदालतमा नियुक्त हुँदा वरीयताक्रममा मुख्य न्यायाधीश बनाइने वा मुख्य न्यायाधीश पछि राखिने व्यवस्था थपेको थियो । यसले न्यायाधीशको मर्यादाक्रम बिथोलिएको बारको दाबी छ ।

संशोधन बारले तत्काल खारेज हुनुपर्ने माग राखेको थियो । कानुन व्यवसायीको राष्ट्रिय भेलाले पनि संशोधन खारेजको माग मूल रूपमा उठाएको थियो । परिषद्ले संशोधन खारेज नगरेपछि बारले साउन १ मा प्रधानन्यायाधीश श्रेष्ठलाई उनकै कार्यकक्षमा भेटेर संशोधन खारेजीलगायत १३ बुँदे मागपत्र बुझाउँदै ७ दिने अल्टिमेटम दिएको थियो । कान्तिपूर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *