एमबीबीएस प्रवेश परीक्षामा गम्भीर त्रुटि, ३ हजारको नतिजा परिवर्तन

एमबीबीएसलगायत चिकित्सा शिक्षाका केही विषयका एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको छ । त्रुटि सुधार गर्दा हाल ‘मेरिट’ सूचीमा परेका धेरै विद्यार्थीको योग्यताक्रम फरक पर्नेछ । करिब ३ हजार विद्यार्थीको नतिजा परिवर्तन हुन सक्ने अनुमान छ ।

आयोगले गत शुक्रबार प्रकाशित गरेको एमबीबीएस तथा शनिबार प्रकाशित गरेको जनस्वास्थ्यको नतिजामा त्रुटि हुन पुगेको हो । एमबीबीएसको नतिजामा परीक्षार्थीले समान अंक प्राप्त गर्दा क्रमशः बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणितमा प्राप्त अंकका आधारमा हुनुपर्नेमा रोल नम्बरका आधारमा सूची प्रकाशित भएको छ ।

शनिबार प्रकाशित जनस्वास्थ्य विषयको नतिजामा भने एउटा विद्यार्थीको रोल नम्बर र प्राप्तांकमा अर्कै विद्यार्थीको नाम प्रकाशित भएको थियो । जनस्वास्थ्य विषयको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा देखिएको त्रुटि भने आयोगले तत्काल सच्याइसकेको छ । तर, एमबीबीएसको नतिजामा देखिएको त्रुटिले आयोगलाई समस्या परेको छ ।

‘परीक्षामा समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम मेरिटका आधारमा कायम गर्नुपर्ने भए पनि रोल नम्बरअनुसार नतिजा सार्वजनिक भएछ,’ आयोगका एक पदाधिकारीले भने, ‘जुन विद्यार्थीले पहिले परीक्षा फाराम भरेको हुन्छ, उसैको रोल नम्बर अगाडि हुन्छ । नतिजामा यस किसिमको त्रुटि हुँदा भर्ना हुने, छात्रवृत्ति प्राप्त गर्ने र शिक्षण संस्था रोज्न पाउने विद्यार्थीको अवसरमा फरक पर्छ ।’

ती पदाधिकारीका अनुसार आयोगको परीक्षामा एकभन्दा बढी परीक्षार्थीले समान अंक प्राप्त गरेको अवस्थामा उनीहरूले क्रमशः बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणित विषयमा प्राप्त गरेको अंकका आधारमा योग्यताक्रम तोकिनुपर्छ । ‘उदाहरणका लागि १० परीक्षार्थीले समान सय अंक प्राप्त गरे भने उनीहरूको योग्यताक्रम मेरिटका आधारमा कायम गरिनुपर्थ्यो,’ उनले भने, ‘तर त्रुटि भएर रोल नम्बरअनुसार हुन पुगेछ ।’ परीक्षार्थीको विषयगत अंक पनि समान भएको खण्डमा कक्षा १२ को प्राप्तांक र त्यसपछिको अवस्थामा एसईईको नतिजाका आधारमा मेरिट कायम गरिनुपर्ने आयोगकै प्रवेश परीक्षा सञ्चालनसम्बन्धी कार्यविधिमा स्पष्ट उल्लेख छ ।

आयोग उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाका अनुसार एमबीबीएस नतिजा प्रकाशनमा देखिएको त्रुटिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा परीक्षा समितिमा छलफल भइरहेको छ । ‘निर्णय नपुगेसम्म यसै भन्न सकिन्न,’ उनले भने, ‘आफूले प्राप्त गरेको अंकमा असन्तुष्टि भए हामी परीक्षार्थीलाई उत्तरपुस्तिका उपलब्ध गराउँछौं ।’ आयोगले विद्यार्थीको गुनासो प्राप्त भएपछि नतिजा प्रकाशनमा संलग्न प्राविधिक टोलीसँग समेत छलफल गरेको जनाएको छ ।

विद्यार्थीले आयोग उपाध्यक्ष झालाई बुझाएको ज्ञापनपत्रमा उत्तरपुस्तिका र ‘ओएमआर सिट’ समेत सार्वजनिक गर्नुपर्ने माग छ । ज्ञापनपत्र बुझाउनेमध्ये अधिकांश विद्यार्थीले अनुमान गरेअनुसार अंक प्राप्त नभएको गुनासो गरेका छन् । ‘मैले १ सय ५० वटा उत्तर मिलाएको छु, बिग्रेको उत्तरको नम्बर घटाउँदा पनि १ सय ३० जति आउनुपर्ने हो,’ एक छात्राले भनिन्, ‘तर सय अंक पनि आएको छैन ।’ ती छात्राले विषयअनुसार फरक–फरक किसिमको त्रुटि देखिएको समेत गुनासो गरिन् ।

आयोगले प्रकाशित गरेको नतिजामा असन्तुष्टि जनाउँदै आइतबार केही विद्यार्थीले आयोग परिसर सानोठिमीमा प्रदर्शनसमेत गरे । करिब ५० विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दै आयोगमा ज्ञापनपत्रसमेत बुझाएका छन् । आयोगले भदौ १ देखि ५ सम्म चिकित्सा शिक्षाका विभिन्न विषयको एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

शुक्रबार सार्वजनिक एमबीबीएसको नतिजामा ७ हजार ८ सय ४७ विद्यार्थी भर्ना हुन पाउने सूचीमा छन् । दुई सय पूर्णाङ्कमा सञ्चालित परीक्षामा सबैभन्दा उत्कृष्ट विद्यार्थीले १ सय ७८ अंक प्राप्त गरेका छन् । नतिजामा त्रुटि भएको सूचना पाएपछि परीक्षा समितिको आकस्मिक बैठक डाकिएको आयोग स्रोतले बतायो । रोल नम्बरका आधारमा मेरिट कायम गरिएको त्रुटि सुधार गर्दा करिब ३ हजार विद्यार्थीको नतिजा परिवर्तन हुन सक्ने अनुमान गरिएको आयोगका एक पदाधिकारीले बताए ।

जनस्वास्थ्य विषयको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा देखिएको त्रुटि भने आयोगले सच्याइसकेको छ । नतिजा सार्वजनिक गर्दा एउटा विद्यार्थीको रोल नम्बर र प्राप्तांकमा अर्कै विद्यार्थीको नाम आएको थियो । जसकारण विद्यार्थी आफ्नो नतिजा थाहा पाउन अलमलमा परेका थिए । नाम ‘इन्ट्री’ गर्दा त्रुटि भएर तलमाथि हुन पुगेपछि सच्याएको आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले बताए । परीक्षाका विषयमा आएका गुनासोका आधारमा नतिजाको पुनः जाँच गर्ने काम भइरहेको जनाए ।

जनस्वास्थ्यतर्फको नतिजा शनिबार सार्वजनिक भएको थियो । त्रुटि थाहा हुनेबित्तिकै तत्कालै सुधार गरेको आयोगले जनाएको छ । काप्रीले नियतवशभन्दा पनि मानवीय रूपमा प्राविधिक समस्या देखिएको बताए । विद्यार्थीले एमबीबीएस, बीडीएस, पब्लिक हेल्थलगायत विषयमा पहिले नतिजा नदेखिने पछि मात्र देखिने, पहिले देखिने पछि नदेखिनेलगायत समस्या भएको समेत बताएका छन् । उनीहरूले नतिजाको विश्वसनीयता र पारदर्शितामा समेत प्रश्न उठाएका छन् ।

यसअघि परीक्षा सकिएको एक/दुई दिनमै नतिजा सार्वजनिक गर्दै आएको आयोगले यस पटक १० दिनपछि मात्र नतिजा सार्वजनिक गरेको थियो । कक्षा १२ मा ग्रेड प्राप्त नगरी पुनर्योगका लागि राष्ट्रिय परीक्षा बोर्डमा आवेदन दिएका विद्यार्थीको नतिजा आएपछि मात्र चिकित्सा शिक्षा आयोगको पनि नतिजा सार्वजनिक गरिएको हो ।

चाँडो प्रवेश परीक्षा सञ्चालन गर्न आयोगले कक्षा १२ को नतिजा सार्वजनिक नहुँदै चिकित्सा शिक्षाको प्रवेश परीक्षाको आवेदन फाराम भर्न पाउने मौका दिएको थियो । ग्रेड प्राप्त गर्न नसक्ने तर आवेदन दिएका विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी गराउन अदालतले आदेश दिएको थियो । चिकित्सा शिक्षाका १५ विषयका स्नातक तहको प्रवेश परीक्षा लिइएको थियो । कान्तिपूर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *