पारा खेलकुदलाई व्यवस्थित गर्नसके धेरै पलेशाहरू जन्मन्छन् : सदस्य सचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पारा तेक्वान्दोकै सफलताका कारण घरेलु पारा खेलकुदलाई व्यवस्थित बनाएर अगाडि बढाइसकेको बताएका छन् ।

पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोकी पलेशा गोवद्र्धनले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएपछि राखेप सदस्यसचिव घिसिङले पारा खेलकुदमा धेरै सम्भावना रहेको औंल्याए । यसअघि नै आफूले पारा खेलकुदलाई व्यवस्थित र व्यावसायिक रूपमा अगाडि बढाउन योजना कार्यान्वयनमा ल्याएको उनको भनाइ छ । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फ त नवौं राष्ट्रिय खेलकुद लगत्तै प्रथम पारा राष्ट्रिय खेलकुदका लागि वार्षिक रूपमा बजेट छुट्याइएको उनले बताए । यद्यपि यो पर्याप्त नरहेको उनको विश्वास छ ।

घरेलु पारा खेलकुदलाई व्यवस्थित र व्यावसायिक बनाउनसके मात्र नेपाली खेलकुदमा धेरै पलेशा गोवर्द्धनको जन्म हुने सम्भावना रहेको उनले औंल्याए । घिसिङले यो सफलताले साना देशले पनि विश्व खेलकुदमा ठूला सफलता पाउन सकिन्छ भन्ने सन्देश दिएको बताए । उपलब्धि हासिल गर्दा पाएको चर्चाजस्तै नीतिगत रूपमा विकास गर्न ध्यान अगाडि बढाउन सकेमा सम्भावनाहरू थप बढ्ने उनको विश्वास छ । भौगोलिक र आर्थिक रूपले साना राष्ट्रले लक्ष्य राखे सफलता पाउने प्रमाणित गरिसकेको उनकाे भनाइ छ ।

पारालिम्पिकको विशेष तयारीको मद्दतले पलेशाले सफलता पाएको सदस्यसचिव घिसिङको विश्वास छ । यसका लागि म्यानचेस्टर सिटीको राम्रो एकेडेमीमा पलेशाले प्रशिक्षण गरेको र त्यो प्रभावकारी बनेको उनको भनाइ छ । चीनमा अध्ययनरत हुँदा पनि उनलाई त्यहाँ नै प्रशिक्षण गराउने वातावरण सिर्जना गर्ने प्रयासमा राखेपले योजना बुनेको उनले स्मरण गरे ।

घिसिङले पलेशा र करातेकी खेलाडी एरिका गुरुङ (१९औं एसियाली खेलकुदकी रजत विजेता) नेपाली खेलकुदमा आजको युगका हिरो रहेको प्रतिक्रिया दिए । उनीहरूले अझै धेरै सफलता ल्याउन सक्ने सम्भावना रहेको र त्यसका लागि सम्बन्धित संघलाई आगामी एशियाली खेलकुद र ओलम्पिकमा दीर्घकालीन तयारी गराउन निर्देशन दिने बताए । त्यसका लागि आवश्यक पर्ने लगानी पनि परिषद्ले गर्ने विश्वास व्यक्त गरेका छन् । अर्को पटक स्वर्ण पदक जित्नेगरी तयारी गर्न काम अगाडि बढाउने बताए ।

राखेप सदस्यसचिव घिसिङले खेलअगाडि नै राज्यले दिने पुरस्कारबारे खेलाडीलाई प्रत्याभुति गराउनसके उनीहरूको प्रदर्शन उच्च हुने विश्वास व्यक्त गरे । सोहीअनुरूप नै आफू राखेपमा नियुक्ति भएपछि देशका लागि पदक जित्ने खेलाडीले कानूनी रूपमै पुरस्कार पाउने वातावरण सिर्जना गर्न खेलकुद विकास नियमावली बनाइएको उनको भनाइ छ । त्यसअनुरूप पलेशाले पारालिम्पिकमा पदक जितेपछि ६५ लाख रुपैयाँ पाउने र उक्त पुरस्कारमा काटिने कर छुटका लागि राखेपको कार्यकारी समितिबाट प्रस्ताव अगाडि बढाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *