मोरङमा एकै घरका दुई बालिका मृत फेला

मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की  धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु हुन् । उनीहरुको शव शनिवार करिब साढे चार बजे फेला  परेको हो । प्रहरीका अनुसार अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छन् ।

धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनी बसेको स्थान नजिकै घर पनि बनाउँदैछन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार शुक्रबार साँझ अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि उनी छोरीहरुलाई लिएर राति नै हिँडेकी थिइन् । आज दुई छोरीको शव फेला परेको हो । आमा भने सम्पर्कविहीन छन् ।

बालिकाको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा पनि फेला परेको छ । मृतक दुवै बालिकाको शवमा कुनै चोट पटक छैन । बालिकाका बुवा अर्जुन भने प्रहरीको सम्पर्कमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *