थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँ बस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ ।

साउनदेखि भदौभित्र यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काट्नेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्‍याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकादेखि हरेरी पूजा गरिँदै आएको शुक्लाफाँटा वडा नं ३ जोनापुर गाउँका वडघरिया सुरेश चौधरीले बताए।

उनका अनुसार वडघरियाको घरको आँगनमा जम्मा भएर गरिने यस पूजामा मुख्य भूमिका भुइहयार गुरुवा र कशौकाको हुने गर्दछ । यस पूजामा भुइया भवानी, जगन्नठिया देवतालगायत अन्य इष्टदेवहरूको पूजा गरिन्छ ।

गाउँभरिका मादल, गोबरबाट बनाइएका गुइँठा, गन्यारीकाठबाट उत्पादन गरिएको आगो, माटाको दियो, सिन्दूर, अक्षता, जललगायत सामग्रीको प्रयोग पूजामा गरिने परदेशी चौधरीले बताए। पूजा हुनुअघिसम्म मादल बजाउन पाइँदैन, उनले भने, पूजा सकिएपछि रातभर जाग्राम बसेर मादल बजाई नाचगान गरेर रमाइलो गर्ने चलन भने छ ।

गाँधी, गुरियालगायत कीरा पक्रेर ल्याउने कार्य गरिन्छ । केही कीरा जिउँदै गुरुवाले चपाएर खाने पनि गर्छन् । यसो गर्दा खेतबारीमा रोग कीराको प्रकोप नहुने विश्वास छ ।  तान्त्रिक विधिबाट सहायक गुरुवाका रूपमा रहेका केशौकाको जीउमा देवता सवार गराउने चलन पनि रहेको छ । केशौकाको जीउमा सवार देउताले गुइँठामा बालिएको आगोमा हामफाल्ने गर्छन् । शरीरमा आगोले नछोओस् भनेर मन्त्रद्वारा बाँध्ने कार्य गरिन्छ । आगोले नछोएमा सुभसंकेतका रूपमा लिइन्छ । दुई दिन लगाएर यो पूजा सम्पन्न गरिन्छ ।

पूजा सकिएको दिउँसोदेखि रातभर नाचगान गर्ने गरिन्छ । यो पूजा गरेमा धानबाली सप्रिने र खेतबारीमा हरियाली भइरहने भन्ने विश्वास रहेको जोनापुरका बरका गुरुवा फूलराम चौधरीले बताए । उनका अनुसार पूजाको अर्को दिन खरिभन (दूध र आगो) खेतको पानीमा मिसाउने चलन छ । त्यसो गर्दा धानबाली सप्रिने जनविश्वास रहेको छ । थारू समुदायका गाउँमा अहिले यो पूजा गर्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *