प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न- मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् ।

शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ती, उपदेश दिएको भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?’

प्रधानमन्त्री ओलीले दाहाल आफैंलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गरे। उनले बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताए । वर्तमान व्यवस्था आफूहरुले लडेर ल्याएको भन्दै उनले यसको विकास र परिमार्जन गर्दै लाने बताए ।

नेपालमा अब कुनै पनि प्रकारको हिंसा सम्भव नभएको बताउँदै ओलीले भने, ‘कसैले गर्न खोजे पनि, चाहे पनि सम्भव छैन । उल्टै हामीलाई तर्साउन खोज्ने ? हामी त सधैँ बारुदमाथि नै, बारुदका बीचमै यात्रा गरेर आएका हौं । आजदेखि होइन, आधा शताब्दीभन्दा बढी समयदेखि । म ६ दशकदेखि यही देश बनाउने अभियानमा छु ।’

उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताए । त्यसभन्दा हप्ता दिन अगाडि नै प्रधानमन्त्री पद छोड्ने बताउँदै ओलीले आफूलाई बढी प्रधानमन्त्री पद खानेभन्दा पनि समयमै हस्तान्तरण गरौं भन्ने लागिरहेको सुनाए ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा भएको सात बुँदे सहमति क्याप्टेन रामेश्वर थापाको घरमा गरेको बताए । उनले क्याप्टेन थापाको विभिन्न व्यवसाय भए पनि व्यवसायमात्रै चलाएर नबसेको भन्दै उनी सचेत नागरिकसमेत भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *