पाइपबाटै पेट्रोल ल्याउने तयारी अन्तिम चरणमा

जमिनमुनिबाट सिधैं डिजेल र पेट्रोल नेपालको तेल भण्डारण केन्द्रसम्म ल्याउने कुरा ७–८ वर्षअघिसम्म ‘हावादारी’ भन्ने गरिन्थ्यो । तर, जमिनमुनिबाटै नेपालको तेल भण्डारण केन्द्र अर्थात् बारा अमलेखगन्ज डिपोसम्म पाइपबाटै डिजेल ल्याउन सुरु गरिएको पाँच वर्ष भएको छ ।

‘पाइपबाट ग्याँस र पाइपबाट तेल’ भन्ने सुन्दा केहीले यो ‘असम्भव’ भनी उडाए । पानीजहाजको कुरामा अझै उडाउँदै छन् । तर, दीर्घकालीन सोच र भिजनसहित काम गर्ने हो भने सम्भव छ भन्ने गतिलो उदाहरण नेपालीले देख्नै नपाउने भन्ने हुन्न ।

पाइपबाट डिजेल मात्र नभई दोस्रो चरणअन्तर्गत पेट्रोल पनि पाइपबाटै ल्याउने तयारी धमाधम भइरहेको छ । अब करिब दुई–तीन महिनाभित्र जमिनमुनिदेखि पाइपबाटै नेपालको अमलेखगन्ज डिपोमा पेट्रोल ‘रिसिभ’ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल आयाल निगम लिमिटेड मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यका अनुसार २४ भदौ २०७६ बाट डिजेल ल्याउन सुरु गरिएको थियो । सोही पाइपबाट अलि फरक प्रविधि प्रयोग गरेर पेट्रोल पनि ल्याउने तयारी भइरहेको उनले बताए ।

भारत मोतिहारी–रक्सौल हुँदै नेपालको वीरगन्ज अमलेखगन्जसम्म कुल ६८ दशमलव ९ किलोमिटर लम्बाई छिचोल्दै जमिनमुनि पाइपबाटै डिजेल ल्याइएको नेपाल आयाल निगम मधेस प्रादेशिक कार्यालयका प्राविधिक तथा सहायक इन्जिनियर एवं प्रवक्ता प्रशान्त भट्टराई बताउँछन् ।

अन्तरदेशीय सीमा पार गरी पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आएको दक्षिण एसियामै पहिलो भएको उनको दावी छ । नेपालतर्फ कुल ३६ दशमलव २ किलोमिटर र भारततर्फ ३२ दशमलव ७ किलोमिटर दूरीमा जमिनमुनि ८ फिट ३ इन्चभित्रसम्म पाइप गाडिएको छ ।

यो कार्य युद्धस्तरमा भइरहेकै समय नेपालतर्फका विज्ञ अर्थात् इन्जिनियर शरद पौडेलले पनि पुष्टि गरेका थिए । जमिनमुनि गाडिएका पाइप ‘५ एल÷६०–एपीआई’ ग्रेडका १ हजार ४ सय ८ फलामे पाइप भएको प्राविधिकले नै पुष्टि गरेका थिए ।

यो योजना १५ महिनाको अवधिमा सक्नेगरी २०७४ पुसबाट फिल्ड सर्वे सुरु गरिएको थियो । जमिनमा गाड्ने गरी काम सुरु २०७५ वैशाखबाट भएको हो । तर, नेपालतर्फ ९ किलोमिटर दूरीमा सिमरादेखि अमलेखगन्जसम्म जंगल परेकाले त्यहाँका केही रुख हटाउनुपर्ने वन नियमले सरकारको निर्णय र प्रक्रियाले दुई महिनामै सकेको नेपालकै ठूला योजनामध्ये नमूना काम थियो । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *