आममाफीबाट कुवेतमा ६५ हजार अवैध कामदार लाभान्वित

कुवेतले दिएको आममाफीबाट ६५ हजार अवैध कामदार लाभान्वित भएका छन् । कुवेतले यस वर्षको सुरुमा अवैध आप्रवासी कामदारलाई आफ्नो स्थिति समायोजन गर्न वा निर्वासनको सामना गर्न तीन महिनाको समयसीमा दिएको थियो ।

सो समयसीमाभित्र ६५ हजार आप्रवासी कामदार लाभान्वित भएको एक वरिष्ठ कुवेती सुरक्षा अधिकारीले बताएका छन् ।

कुवेतको आन्तरिक मन्त्रालयमा रेसिडेन्सी मामिलाका महानिर्देशनालयका प्रमुख ब्रिगेडियर युसुफ अल अयुबले जुन महिनाको अन्त्यमा म्याद सकिएपछि ४ हजार ६ सय ५० जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ परेका सबै जनालाई देशबाट डिपोर्ट गरिएको र पुनः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइएको प्रमुख ब्रिगेडियर अल अयुबले बताए ।

कुवेतमा आफ्नो बसोबासस्थिति सुधार गर्न प्रवासीका लागि बिस्तारित माफी अवधिको म्याद सकिएपछि गृह मन्त्रालयले रेसिडेन्सी कानुन उल्लंघन गर्नेलाई लक्षित गर्दै व्यापक सुरक्षा अभियान चलाएर धमाधम पक्राउ गरिरहेको छ ।

मन्त्रालयका अनुसार कोही पनि उल्लंघनकर्ता समयसीमा समाप्त भएपछि भाग्ने छैनन् । अभियानले सबै राज्यपाललाई दृढता कायम राख्न र बिस्तारित अवसरका बाबजुद आफ्नो स्थिति नियमित गर्न असफल भएकालाई धमाधम पक्राउ गरी देश निकाला गर्ने क्रम जारी रहेको जनाएको छ ।

कुवेतमा ठूलो संख्यामा नेपाली कामदार पनि अवैध तरिकाले बस्दै आएका छन् । अब उनीहरूलाई पनि कुवेत सरकारले खोजीखोजी पक्राउ गरी डिपोर्ट गर्नेछ । अहिले कुवेतको केन्द्रीय कारागारमा ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् ।

अधिकांश लागूऔषध ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका छन् भने बाँकी चोरी, डकैती, झैझगडा गरेको र कानुन उल्लंघन गरेका कारण जेल परेका छन् । जेल सजाय सकिएपछि पुनः कुवेत फर्कन नपाउने गरी कुवेत सरकारले उनीहरूलाई डिपोर्ट गर्दै आएको छ ।

हाल कुवेतमा १ लाख ७ हजार नेपाली वैधरूपमा कार्यरत रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *