मिना परियार हत्या प्रकरण : थप एक पक्राउ

म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारलाई आठ महिनाअघि वेपत्ता र हत्या गरेको घटनामा संलग्नभएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पोखरामा फक्राउ परेका बेनी नगरपालिका–९ तोरीपानीका २३ वर्षीय श्याम खत्रीलाई बिहीबार म्याग्दी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जनाएको छ ।

सो घटनामा संलग्न चार जना यसअघि नै पक्राउ परेका र फरार रहेका श्यामलाई म्याग्दीबाट खटिएको टोलीले कास्की प्रहरीको सहयोगमा बुधबार पोखरामा पक्राउ गरेर ल्याएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।

गत पुस १६ गते राति वेपत्ता भएकी परियारको शव गत साउन २७ गते बेनी नगरपालिका–९ र १० को सिमानामा पर्ने कालीमूलको जङ्गलमा भेटिएको थियो ।

व्यक्ति बेपत्ता बनाएको कसुरमा २०८० माघ २३ गते पक्राउ परेका तोरीपानीका २५ वर्षीय राम खत्रीलाई म्याग्दी जिल्ला अदालतको गत फागुन १७ गतेको थुनछेक आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । छ महिनाको गर्भपतन गराउने विषयमा मिना र रामबीच म्यासेन्जरमा भएको कुराकानीको आधारमा किटानी जाहेरी दर्ता भएकै दिन रामलाई प्रहरीले पक्राउ गरेको थियो ।

गाडिएको अवस्थामा भेटिएको शव र सँगैका गहना तथा कपडा मिनाको भएको सनाखत गरेका परिवारले गत साउन ३० गते रामसहित उनकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाई श्याम खत्री र सालो नाता पर्ने २३ वर्षीय रोजन खत्रीलाई प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । फरक÷फरक मितिमा पक्राउ परेका रेणु, विक्की र रोजनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

चिकित्सकको शव परीक्षण, विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, शवसँगै भेटिएका सामग्री, म्यासेन्जर कुराकानीलगायतका तथ्य, प्रमाणलाई आधार मानेर अनुसन्धान अघि बढाइएको रायमाझीले बताए । उनका अनुसार भेटिएको शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरेर हत्या भएको र पेटमा भ्रुण समेत रहेको पुष्टी भएको छ । घटनाको थप अनुसन्धान गर्नका लागि डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

परियार हत्या घटनाको सत्यतथ्य अनुसन्धान, कारबाही र पीडितलाई न्यायका लागि दबाब दिन बेनीमा पछिल्लो १५ दिनयता दैनिकजसो धर्ना र प्रदर्शन भइरहेको छ । बिहीबार संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको आयोजनामा बेनी बजारमा भएको दबाब र्‍यालीपछिको कोणसभाका वत्ताहरुले अन्तरजातीय प्रेम सम्बन्ध हुँदै गर्भवती बनाएर नियोजित रुपमा मिनाको हत्या गर्नेलाई हदैसम्मको कारबाहीको माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर