न्यायाधीश नियुक्तिमा नेपाल बारको आपत्ति

नेपाल बार एशोसिएशनले न्याय परिषद नियमावली २०७४ संशोधन अनुसार न्यायाधीश नियुक्तिको प्रक्रिया सरकारले अघि बढाएको भन्दै आपत्ति जनाएको छ ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै संशोधनको विरोध भइरहेको अवस्थामा यही अनुसार न्यायाधीश नियुक्त नगर्न ध्यानाकर्षण पनि गराएको छ ।

सरकारले उच्च अदालत र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन लागेको सार्वजनिक भएपछि नेपाल बारले असहमति जनाएको छ ।

बारले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकार नेपाल वार एशोसिएशनका प्रमुख उद्देश्यहरु रहेको बताउँदै विगतमा हुने गरेका असंवैधानिक कदम र त्यस्ता कार्य गर्ने पदाधिकारका विरुद्धमा नेपाल बारले नेतृत्वदायी भूमिका निर्वाह गरेको, संविधान र कानून माथि हस्तक्षेप गर्ने जो कोही पदाधिकारी र त्यस्ता गलत निर्णयहरुलाई निस्तेज बनाएको ईतिहासको स्मरण गराइएको उल्लेख छ ।

नेपाल बार एशोसिएशनको सुर्खेतमा सम्पन्न बार्षिक साधारण सभा तथा चितवनमा सम्पन्न केन्द्रीय कार्यकारिणी परिषद्को बैठक र काठमाडौंमा भएको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन, २०८१ ले न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति असहमति जनाउँदै अविलम्ब खारेज गर्न प्रधान न्यायाधीश र प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।

बारले संशोधित नियमावली खारेज गरेर मात्र कानून व्यवसायीको सम्मानजनक उपस्थितिकासाथ उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्सँग माग गर्दै नियमावली खारेज नभएसम्म कडा आन्दोलन गर्ने चेतावनी बारले दिएको छ ।

न्याय परिषदले न्याय परिषद नियमावली २०७४ लाई संशोधन गर्दै मुख्य रजिष्ट्रार न्यायाधीशमा नियुक्त हुँदा स्वतः मुख्यपछिको वरियता पाउने व्यवस्था गरिएपछि बारले उक्त प्रावधान प्रति असन्तुष्ट राख्दै आएको छ ।

राजपत्रमा प्रकाशित संशोधित नियमावलीमा ‘नेपाल न्याय सेवाको मुख्य रजिष्ट्रारको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएको व्यक्तिको हकमा मुख्य न्यायाधीश पछिको क्रममा ।’ हुने उल्लेख छ ।

नियमावलीमा मुख्य रजिष्ट्रारको रूपमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएका व्यक्ति एक भन्दा बढी भएमा नियुक्ति मितिको आधारमा वरिष्ठता कायम हुने प्रावधान राखिएको छ ।

त्यस्तै सर्वोच्चमा रजिष्ट्रार (विशिष्ट श्रेणी÷सचिव) भएको व्यक्ति उच्चमा न्यायाधीश नियुक्त भएमा उ विशिष्ट श्रेणीको पदमा नियुक्ति भएको मितिभन्दा पछि उच्च अदालतको न्यायाधीशको पदमा नियुक्त भएका व्यक्तिभन्दा अगाडिको वरियतामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर