रवि लामिछानेलाई गगन थापाले भने- बयान दिएको हो, सफाई पाएको होइन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध प्रमाण भएरै संसदीय छानबिन समिति बनेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो कुरा बताएका हुन् ।

‘केही दिनदेखि संसदमा केही साथीहरुले प्रमाण खोइ ? प्रमाण खोइ ? भनेर खोजिराख्नु भएको पाएँ,’ महामन्त्री थापाले भने,‘त्यत्रो तथ्य, प्रमाणहरू भएरै त होला यत्रो संसदमा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ । त्यो संसदीय समिति हामीले लडेर बनाएको हो नि । त्यसको टिओआर हामीले लेख्न लगाएको हो । नाम लेख्न लगाएको हो । कम्पनीको नाम लेख्न लगाएको हो ।’

यस्तै महामन्त्री थापाले संसदीय छानबिन समितिमा आफूसँग भएको प्रमाण पुगिसकेको पनि दाबी गरेका छन् । उनले भने, ‘अनि त्यो तथ्य, प्रमाणहरू दिएनौँ होला हामीले ? हामीसँग भएको तथ्य, प्रमाणहरू पुगेन होला समितिमा ? हाम्रा साथीहरूले बोकेर जानु भएको छैन होला ? अनि यसमा ख्याल गर्नु भएन ?’

तिनै प्रमाणका आधारमा ९ घण्टा रास्वपा सभापति लामिछानेले बयान दिनुपरेको पनि महामन्त्री थापाले दाबी गरे । ‘नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले आएको होइन होला ?,’ उनले प्रश्न गरे ।

आफूलाई संसदीय छानबिन समितिप्रति पूर्ण विश्वास भएको पनि महामन्त्री थापाले बताए । उनले भने, ‘मलाई त समितिमाथि पूरा विश्वास छ । सुर्य थापाले एकदम मेहनत गर्नुभएको छ । समितिमा भएका सबै साथीहरुमाथि विश्वास छ ।’

रास्वपा सभापति लामिछानेतर्फ लक्षित गर्दै महामन्त्री थापाले बयान दिएको कुरामा सफाइ ठान्दै नझुक्किन पनि आग्रह गरे । बरु फैसला कुर्नुपर्ने बताए । ‘बरु साथिहरू झुक्किनु भयो कि भन्ने लागेको छ मलाई । बयान हो बयान । सफाइ होइन,’ उनले भने, ‘फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य, प्रमाणको आधारमा फैसला आउँछ भनेर बसिरहेको छु ।’

आफूलाई समितिमा बस्ने प्रत्येक सांसदमाथि विश्वास रहेको दाबी गर्दै उनले भने,‘तर रास्वपाका साथीलाई अलि अफ्ठ्यारो पर्ला कि ? किनकी कालोलाई सेतो कसरी भन्नु ?

त्यसैले फैसलाको दिन गन्न महामन्त्री थापाले आग्रह गरे । ‘दिन गनौँ । राम्रोसँग गनौँ । औँला भाँचेर गनौँ । लेखेर गनौँ । खरिले, मसिले जे ले गनेपनि हुन्छ । फैसला आउने दिन गनौँ । फैसला आएपछि सँगै बसौँला’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर