बुद्धशान्ति गाउँपालिकाले जडान गर्‍यो इन्सिनरेटर, फोहोरमैला व्यवस्थापनमा अग्रणी पालिका बन्दै

झापाको बुद्धशान्ति गाउँपालिकाले फोहोरमैलाको व्यवस्थापनका लागि इन्सिनरेटरको व्यवस्था गरेपछि फोहोरमैला व्यवस्थापनमा झापाका पालिकाहरूमध्ये अग्रणी बन्ने देखिएको छ।

बुद्धशान्ति १ निवासी सुजित बरालको पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैलाका लागि गाउँपालिका कार्यालयले व्यवस्था गरेको हो।

राष्ट्रिय योजना आयोगबाट गत बर्ष ९० लाख रुपैयाँ विनियोजन भएर अहिलेका संरचना तयार भएको हो। यस वर्ष पनि आयोगबाट ८५ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिए।

पालिका क्षेत्रमा जनघनत्व बढ्दै गएको अवस्थामा भावी दिनमा फोहोर मैला व्यवस्थापनमा इन्सिनरेटरसहित फोहोरमैला व्यवस्थापनका लागि यो काम गरिएको उनले बताए।

प्रसाईंले भने, ‘अब हामी स्रोतमै फोहोरको वर्गीकरणमा लाग्छौं। कुहिने फोहोरबाट मल उत्पादन गरेर किसानलाई उपलब्ध गराउने योजना छ। नकुहिने सिसाबिनाको फोहोर भने यही इन्सिनरेटरमा जलाउने योजना छ।’

यस्तै, किसिमको इन्सिनरेटर यसअघि नै बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालले सञ्चालनमा ल्याइसकेको छ। भारतको सोलिडटेक वेस्ट एण्ड डिस्पोजल प्रालिद्वारा निर्मित उक्त इन्सिनरेटर वातावरणमैत्री रहेको बताइन्छ।

उक्त मेसिनमा फोहोर जलाउन इन्धन वा विद्युतको आवश्यकता पर्दैन। इन्सिनरेटरमा धातुजन्य र सिसा बाहेकका फोहोर जलाउन मिल्ने बताइएको छ।

इन्सिनरेटरमा फोहोर राखेर आगो सल्काएमात्र पुग्ने हुँदा शून्य लागतमा फोहोर जलाउन सकिने कम्पनीले दाबी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर