ऊर्जामन्त्री खड्काको दाबी- ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लियो
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गरेका छन् ।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पञ्चेश्वर, बुढिगण्डकी, उपर अरुण जस्ता ठूल्ठूला जलविद्युत आयोजनाहरुको कामले गति लिन थालेको बताएका हुन् । मन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको पनि उल्लेख गरे । सरकारले स्वदेशमै रोजगारी सृजना हुने खालको आयोजनाहरुको कामलाई समयमै सम्पन्न गर्न कटिवद्ध भएर लागेको पनि बताए । सरकार रोजगारी सृजनातर्फ उन्मुख रहेको मन्त्री खड्काको भनाई थियो । उनले कुनैपनि आयोजनाहरुको कामलाई सम्पन्न गर्नका लागि इन्जिनियरहरुको भुमिका अत्यन्तै महत्वपूर्ण हुने पनि बताए ।
मन्त्री खड्काले भने, ‘अब सरकार रोजगारी सृजनातिर उन्मुख छ । र अधुरा आयोजनाहरु, अधुरा कामहरु समयमै सम्पन्न गर्नका लागि सरकार कटिवद्ध भएर लागेको छ । अहिले सरकार संयुक्त सरकार तपाईहरुलाई थाहा छदैछ । अहिले सम्माननीय प्रधानमन्त्रीज्युको स्पष्ट निर्देशन छ–हाम्रो आदरणीय पार्टी सभापतिज्यूको स्पष्ट निर्देशन छ हामीलाई । समयमा सबै कामहरु सम्पन्न हुनुपर्दछ । र जनताले अनुभुति गर्नेगरी देखिने गरी काम गर्नुपर्दछ । र यसो गर्न सक्यो भने तमाम विदेशिन लागेका युवाहरुलाई यही रोजगारी सृजना गर्न सकिन्छ । मेरो मन्त्रालय अन्तर्गतको पञ्चेश्वर, बुढिगण्डकी, अपर अरुण जस्ता ठूल्ठूला आयोजनाहरु अव गति लिन शुरु गरेको छ । र यो समयमै सम्पन्न गर्नेगरी सरकारले काम थालेको छ । त्यसमा पनि यहाँहरुको भुमिका अत्यन्तै महत्वपूर्ण छ ।’
मन्त्री खड्काले आयोजनाहरुको कामलाई सम्पन्न गर्नका लागि नेपालमा अझै पनि प्राविधिक जनशक्तिको अभाव रहेको पनि बताए ।
प्रतिक्रिया