गृह मन्त्रालयद्वारा भारतीय राज्यमन्त्रीलाई बस दुर्घटनाबारे ‘ब्रिफिङ’

घटनामा राज्यमन्त्रीका आफन्त समेतको मृत्यु

गृह मन्त्रालयले तनहुँमा २७ जना भारतीय नागरिकको मृत्यु भएको बस दुर्घटनाको विषयमा शनिबार भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ ।

सिंहदरबारस्थित मन्त्रालय भवनमा बिहान गृहमन्त्री रमेश लेखकले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाबाट भएको क्षति, उद्दार तथा घाइतेहरुको उपचारबारे भारतीय राज्यमन्त्री खड्सेसँग छलफल गरेका हुन् ।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए ।गृहमन्त्री लेखक र भारतीय राज्य मन्त्री खड्सेले त्रिभुवन शिक्षण अस्पताल पुगेर उपचाररत घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

त्यसपछि मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै गहृमन्त्री रमेश लेखकले दुखद् घटना भएको बताए।
उनले मृतकका आफन्तलाई समवेदना व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।
‘घाइतेहरुको उपचारका कुनै कसर बाँकी राख्दैनौ’, मन्त्री लेखकले भने, ‘घटना लगत्तै सुरक्षा निकाय र स्थानीय प्रशासन उद्वारमा खटिएको थियो ।’

त्यसैगरी भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्सेले दुर्घटनापछि नेपाल सरकारबाट उद्दारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरिन्।

उनले घाइतेहरुको उपचारमा चिकित्सकहरुले देखाएको सक्रियताको प्रशंसा गरिन्।
‘दुर्घटना केही मेरै आफन्तको पनि मृत्यु भएको छ, ‘उनले भनिन् , उद्वार खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद ।’

गृह मन्त्रालयका अनुसार घाइते मध्ये तीन जनाको आइसीयु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ । शुक्रबार घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । सो बसमा ४३ जना यात्रु सवार थिए ।

त्यसैगरी मृतकहरुको चितवनको भरतपुर अस्पतालमा शव परिक्षण भइरहेको छ ।

गृहमन्त्री लेखकसंगको भेटपछि भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्से चितवनस्थित भरतपुर अस्पताल जाने कार्यक्रम तय भएको छ ।

शव परिक्षणपछि शवहरु भारतीय पक्षको जिम्मा लगाउने र भारतीय पक्षले विशेष विमानबाट शव भारत लैजाने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर