मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन

मोटरसाइकल दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको छ ।

बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा शुक्रबार राति भएको दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन भएको प्रहरीले जनाएको छ । कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति ९:३० बजे एक साइकलमा ठोक्किएर दुर्घटना भएको र उनको घटनास्थलमै निधन भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए ।

पूर्ववडाध्यक्ष यादवले चलाएको मोटरसाइकले एउटा साइकल ठक्कर दिएको प्रहरी उपरीक्षक सिंहले बताए । साइकल, चप्पल र मोबाइलको खोल घटनास्थलमै रहेको तर साइकल चालक फरार छ, उनले भने, पूर्ववडाध्यक्षको घटनास्थलममै मृत्यु भएपछि साइकल चालक डराएर फरार भएको हुनसक्छ ।

साइकल चालकको खोजी तथा दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। यादवको टाउकाको पछाडि भागमा गम्भीर चोट लागेको छ ।

नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य रहेका यादव २०७४ को निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *