थाइल्याण्डमा आयोजना हुने बिमस्टेक बैठक स्थगित
प्रधानमन्त्री ओलीकाे विदेश भ्रमणमा अन्याेल
थाइल्याण्डले नयाँ सरकार गठनका कारण तयारी नभएको भन्दै बिमस्टेकको आगामी शिखर सम्मेलन स्थगित गरेको छ ।
सेप्टेम्बर ३ र ४ मा हुने भनिएको शिखर सम्मेलन स्थगित भएको स्रोतले पुष्टि गरेको छ । बिमस्टेकमा बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड, भुटान र नेपाल गरी सात राष्ट्र सदस्य छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने तयारी गरिएको थियो । याे नै प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण हुने चर्चाकाबीच मुख्य कार्यक्रम नै स्थगित भएको हो । याेसँगै प्रधानमन्त्री ओलीकाे पहिलाे विदेश भ्रमण समेत अन्याेलमा परेकाे छ ।
यसअघि थाई सञ्चारमाध्यमले प्रधानमन्त्री प्यातोङथान सिनावात्रा र कार्यवाहक विदेशमन्त्री मारिस सागियामसोङ्साबीच आज भएको भेटवार्तापछि यस्तो निर्णय गरिएको जानकारी दिएको थियो ।
कार्यक्रम बुधवारसम्मको समय तालिकामा भए पनि नयाँ मन्त्रिपरिषद् गठनमा प्राविधिक समस्याका कारणू निर्णय लिनुपरेको थाई पीबीएस वर्ल्ड टिभी च्यानलले जनाएको छ।
थाइल्याण्डको संवैधानिक अदालतले श्रेथा थाविसिनलाई प्रधानमन्त्रीको पदबाट हटाएपछि सत्तारुढ फेउ थाई पार्टीले अगस्ट १४ मा पाइतोङटार्न सिनावात्रालाई आफ्नो उत्तराधिकारीको रूपमा चयन गरेको थियो। पाइतोङटार्न पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी र पूर्व प्रधानमन्त्री यिङलक सिनावात्राकी भतिजी हुन्।
बंगलादेशका अन्तरिम सरकार प्रमुख, नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको पहिलो विदेश भ्रमणलाई पनि शिखर सम्मेलनमा राखिएको थियो। शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री र युनुसबीच द्विपक्षीय भेट हुने अपेक्षा गरिएको थियो।
भारत–पाकिस्तान तनावका कारण सार्क गहिरो स्थिरतामा गएपछि भारतले बिमस्टेक समूहलाई नमूना क्षेत्रीय निकायका रूपमा वकालत गर्दै आएको छ ।
प्रतिक्रिया