नेपाल र भारतका विदेशमन्त्रीबीच यी विषयमा भएकाे थियाे छलफल

परराष्ट्रमन्त्री आरजु राणा देउवा यतिबेला भारत भ्रमणमा छिन् । भ्रमणका क्रममा उनले द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरुबारे पनि छलफल गरेकी छिन् ।

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी एस जयशंकरबीच सोमबार भएको भेटवार्तामा व्यापार तथा पारवहन, लगानी र पूर्वाधार निर्माणका विषयमा समेत छलफल भएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भेटमा नेपालले अब करिब १००० मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्नेबारे चर्चा समेत भएको थियो । साथै दुवै पक्षबिच ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिकाबारे पनि कुराकानी भएको थियो ।

सोमबारै भारत सरकारले नेपालका १२ वटा जलविद्युत परियोजनाको थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति प्रदान गरेको थियो ।भेटवार्तामा नेपाल र भारतबिच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको थियो । भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुले गति लिएको र विशेष गरी पूर्वाधार अन्तर्गत अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटी लगायत कनेक्टिभिटीका क्षेत्र जस्तै भौतिक, डिजिटलका साथसाथै जनता–जनताबीचको सम्बन्धमा प्रकट भएको छ ।

त्यसलगत्तै मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन् । हैदरावाद हाउसमा सोमबार साँझ भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको मन्त्री राणाले जानकारी दिएकी छन् ।

भेटमा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएकी छन् । भारतका विदेशमन्त्रीको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेकी मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन सहकार्यका नयाँ क्षेत्रहरुबारे छलफल र पहिचान गर्ने अवसर प्रदान गरेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *