भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले भेटमा नेपाल–भारतबीच विविध विषयमा सहकार्यमा जोड दिनुका साथै मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी छन् ।

मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा आफू र मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गरेको उल्लेख गरेकी छन् ।

‘मलाई आशा छ, यो भ्रमण र हाम्रा उच्चस्तरीय भेटघाटले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ,’ उनले लेखेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोपत्र मोदीलाई हस्तान्तरण गरेको पनि उनले बताएकी छन् । भेटपछि मोदीले पनि एक्समा परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । उनले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी रहेको पनि उल्लेख गरेका छन् ।

दुई मुलुकको विकास साझेदारीमा निरन्तर गतिका लागि तत्पर रहेको पनि उनको भनाइ छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा मोदी र राणाबीचको भेटवार्तामा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको जनाएको छ । राणा र मोदीबीच सोमबार साँझ करिब ३० मिनेट कुराकानी भएको हो ।

भेटमा नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा, परराष्ट्रका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिस्टर काउन्सिलर द्रौपदा सापकोटा तथा भारतका तर्फबाट विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, प्रिन्सिपल सेक्रेटरी प्रमोदकुमार मिश्र, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

राणाले सोमबार दिउँसो नै समकक्षी जयशंकरसँग भेटवार्ता गरेकी छन् । उनीहरूबीच नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । मन्त्री राणाले जयशंकरसँगको भेटवार्ता फलदायी रहेको बताएकी छन् । उनले उक्त भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको उल्लेख गरेकी छन् । ‘यो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु,’ मन्त्री राणाले एक्समा लेखेकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *