गत साउनको तुलनामा अहिले राजश्व २०.१ प्रतिशत र पुँजीगत खर्च ९ गुणाले वृद्धि

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताएका छन्।

आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारको पहलकदमीका कारण केही सकारात्मक संकेतहरू शुरु भएको बताए।

उनले पुँजीगत खर्च गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा ९ गुणाले वृद्धि भएको बताए। उनले घरजग्गा कारोबार अहिले आम मानिसहरूमा चासोको विषय रहेको भन्दै घरजग्गा कारोबारमा रहेको शिथिलताको प्रभाव समग्र अर्थतन्त्रमा परिरहेको बताए।

उनले घरजग्गा कारोबार गत वर्षको साउनको तुलनामा यस आर्थिक वर्षको साउन महिनामा ११ प्रतिशतले बढेको दाबी गरे। उनले राजश्व ३२ प्रतिशतले वृद्धि भएको बताए। अर्थतन्त्रमा सकारात्मक संकेत अनायास नभएको भन्दै सरकारप्रति आम नागरिकको विश्वासका कारण सम्भव भएको बताए। सरकारले लिएको नीतिको प्रभावका कारण पनि अर्थतन्त्र सकारात्मक बन्दै गएको बताए। उनले अहिले देखिएका सकारात्मकतामा चित्त बुझाएर सरकार बस्ने पक्षमा नरहेको र अझ तीब्र गतिको आर्थिक प्रगति देशलाई चाहिएको बताउनु भयो । आर्थिक क्षेत्रमा रहेका समस्याको शिघ्र समाधान चाहिएको उल्लेख गरे।

उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्र र सरकार एउटै नदी प्रणाली रहेको बताए। उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग निर्माण गर्ने प्रतिवद्धता मन्त्रालयले लिएको भन्दै अध्ययन गरेर अध्ययनका प्रतिवेदन दराजमा थन्क्याइ दराज सजाउने स्थिति नहुने बताए।

विदेशी लगानीको लागि लचिलो बन्ने तर नेपाली पुँजी बाहिर जाने कुरामा होसियारी अपनाउन आग्रह गरे। नेपालमा आउने विदेशी लगानी गैरकानूनी हुनु नहुने बताए। उनले सरकारले लगाएको काम सकिसकेपछि राज्यले भुक्तानी दिने स्पष्ट पारे। उनले सम्पन्न भएको कामको भुक्तानी सम्बन्धित व्यवसायीहरूले पाउने बताए।

सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गरेर नै सरकार अघि बढ्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *