कानूनका छिद्र हेरेर समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य हुँदैन: मन्त्री खड्का

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कानूनका छिद्र हेरेर दु:ख दिने, खेद्ने र समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य नहुने बताएका छन् ।

आईतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजश्व चुहावट, ठगी, नोक्शानी हुनेकुरामा ध्यान दिन जरुरी रहेको बताए । अहिले दुई ठूला राजनीतिक दल मिलेकाले निजी क्षेत्रका समस्याहरु समाधान गर्ने र मुलकमा समृद्धि कायम हुनसक्ने बताए । उनले अहिले देश विकासका लागि ठूलो अवसर रहेको भन्दै यसलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने बताए । उनले जलश्रोत विधेयक फिर्ता लिन माग गरिएको भन्दै अब विधेयक फिर्ता लिने भन्दा पनि आवश्यक नीतिगत सुधार गरेर पास गर्ने बताए ।

उनले भने, ‘अहिले सन्दर्भमा अर्थ मिलेको छ । मुलुकका दुई वटा ठूला दलहरु समेत रहेर सरकार निर्माण भएको छ । मलाई लाग्छ सांसदहरुको पनि यस्ता विषयहरुमा पार्टीगत धारणा छैन । विधेयकहरु समितिमा विभिन्न फोरममा छलफलमा छन् । यसमा आवश्यक, चाहिँदो नीतिगत सुधार गरेर चाँडो पास गर्नुपर्छ । फिर्ता लिँदा के हुँदो रहेछ भने अर्को एक दुई वर्ष नहुने रहेछ । कानूनका छिद्र हेरेर दु:ख दिने, खेद्ने र समृद्धिलाई टाढा पुर्‍याउने काम हुन सक्दैन । चुहावट, ठगी, नोक्शानी हुनेकुरामा ध्यान दिनुपर्छ । त्यो नोक्शानी तपाईंहरुलाई पनि हो, मुलुकलाई पनि हो ।’

मन्त्री खड्काले निजी क्षेत्रको सहयोग बिना मुलुकको समृद्धि सम्भव नरहेको बताए । उनले सरकारले नीतिको सुधार गर्ने र व्यवसायीहरुले आफ्ना कमजोरी हटाएर मुलुक निर्माणमा लाग्नुपर्ने बताए । उनले सरकारले खोलैपिच्छेका निजी कम्पनी दर्ता गरेको तर वर्षौंदेखि अलपत्र रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर