‘अस्पताल मात्र होइन प्रत्येक कार्यस्थलहरु महिला मैत्री र सुरक्षित हुनुपर्छ’
इन्डियाको कोलकताको मेडिकल कलेजमा स्नातकोत्तर अध्ययनरत ३१ वर्षीया आवासीय चिकित्सक डा मोमिता देवनाथमाथि भएको अमानवीय र क्रुर तरिकाले बलात्कार गरी हत्या गरिएको घटनाले मेरो मन, मस्तिष्क, शरीर र आत्मालाई पूर्ण रुपले मर्माहित तुल्याएको छ।
उनको पोस्टमार्टम रिपोर्ट अनुसार उनको शरीरमा ११३ ठाउँ टोकेको दाग भएको, घाँटीको हड्डी भाँचिएको, हिपको हड्डी भाँचिएको, चस्मा फुटेर चस्माले आँखा प्वाल पारेर आँखाबाट रगत बगिरहेको र उनको शरीरभित्र १५० मिलिलिटर विर्य भेटिएको छ। (एक जना पुरुषको १० देखि १५ मिलिलिटर मात्र हुन्छ) यसको अर्थ उनीमाथि राक्षसी तरिकाले सामूहिक बलात्कार भएको भन्ने बुझिन्छ। उनको शरीरको प्रत्येक अङ्गलाई यति यातना दिईएको छ कि कुनै मानिसले कल्पनासम्म पनि गर्न सक्दैन। त्यो पनि एक चिकित्सकलाई जसले ३६ घण्टे ड्युटी पुरा गरेर अस्पतालको सेमिनार हलमा एकैछिन आराम गरिरहेकी हुन्छिन्। हजुर, अस्पतालको सेमिनार हलमा !!! यो घटनाले म भित्रको चिकित्सकको निर्मम हत्या गरेको छ र म भित्रको महिला मुनालाई नराम्रोसँग त्रसित बनाएको छ। के मानवता साँच्चै मरिसकेको हो ?? यो अपराध साँच्चै पूर्णरूपले निन्दनीय छ, चाहे त्यो संसारको जुनसुकै कुनामा घटेको होस्, एक साधारण मृत्युदण्ड यसको लागि अपुग हुनेछ। ति राक्षसरुपी अपराधिहरुले पनि त्यो अमानवीयता र क्रुरता भोग गर्नुपर्छ। म यो अपराधका अपराधीहरूलाई जीवनभर असह्य पीडा र निरन्तर यातना हुने खालको सजाय माग गर्दछु जसकारण फेरि कुनै पनि व्यक्तिले यस्तो कुकृत्य गर्ने कल्पना समेत गर्न नसकोस्। एउटा महिला त्यो पनि डाक्टर, एउटा अस्पतालभित्र नै सुरक्षित छैन भने यो सारा संसारलाई नै एउटा उद्घोष हो कि कुनै पनि महिला कहिँ पनि सुरक्षित छैन। नेपालको एक संघीय सांसद, पूर्व स्वास्थ्य राज्यमन्त्री, नेपाल मेडिकल काउन्सिलको पूर्व निर्वाचित केन्द्रीय सदस्य साथै म आफै एक शल्य चिकित्सक र एक महिला चिकित्सकको हैसियतले यस घटनाप्रति अत्यन्त गहिरो पीडा र हृदयस्पर्शी चिन्ता महसुस गरेको छु।
म पीडित परिवारलाई यो असहनीय पीडा सामना गर्न शक्ति मिलोस् भनि कामना गर्दछु। पीडित डाक्टरको न्यायको लागि सम्पूर्ण निकायहरूसँग अपिल गर्दछु। साथै चिकित्सकहरुको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै सम्पूर्ण स्वास्थ्यकर्मीको लागि सुरक्षित कार्यस्थलको सुनिश्चितताको माग गर्दछु। म आवान गर्न चाहन्छु विश्व समुदायका सबै नेतृत्व गणहरू, संसारका सबै स्वास्थ्यसँग सम्बन्धित संगठनहरू, महिला अधिकारकर्मीहरू, मानव अधिकारकर्मीहरू साथै नागरिक समाजहरु सबैको सामूहिक पहलमा अन्तर्राष्ट्रिय बहस गरी विश्वव्यापी म्यान्डेट तयार गरौं जसले अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पूर्णरूपले शान्ति क्षेत्र घोषणा गरोस् र चौबीसै घण्टा कडा निगरानी र सुरक्षाको प्रत्याभूति गरोस्। स्वास्थ्य केन्द्रहरूमा हुने हुलहुज्जत, हिंसा,विध्वंस, उत्पीडन र कुनै पनि किसिमको दुर्व्यवहारलाई पूर्ण रूपले निरुत्साहित र निषेध गरिनुपर्छ। हामी चिकित्सकहरू अरुको ज्यान बचाउन दिन रात नभनी, साँझ बिहान नभनी, भोक तिर्खा नभनी, निन्द्रा थकान नभनी आफूलाई समर्पित गर्छौं तर हाम्रा कार्यस्थलहरू हाम्रै लागि असुरक्षित र त्रसित हुन्छन् भने डराएको मन र काँपीरहेको हातले उपचार गर्न सक्दैनौं। अस्पताल मात्र होइन प्रत्येक कार्यस्थलहरु महिला मैत्री र हाम्रा महिला दिदीबहिनी, आमा, छोरी, चेलीको लागि सुरक्षित हुनुपर्छ। बनाइनुपर्छ।
म पुनः दोहोर्याउँछु यदि एक महिला, भलै चिकित्सक भएर पनि, अस्पतालभित्र नै सुरक्षित छैनन् भने यसले हाम्रो समाजको डरलाग्दो चरित्र चित्रण गरिरहेको छ जसले निकै गम्भीर चेतावनी दिइरहेको छ कि कुनै पनि महिला कुनै पनि स्थानमा सुरक्षित छैनन्। विश्व समुदायले प्रत्येक महिला, प्रत्येक आमा, प्रत्येक दिदीबहिनी, प्रत्येक छोरी चेलीलाई समाज र प्रत्येक कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी गर्नको लागि तत्काल आवश्यक कदमहरू चाल्न कत्ति पनि ढिला गर्नुहुन्न।
डाक्टर तोसिमा कार्की, प्रतिनिधि सभा सदस्य, पूर्व स्वास्थ्य राज्यमन्त्री, पूर्व निर्वाचित केन्द्रीय सदस्य ,नेपाल मेडिकल काउन्सिल,एक शल्य चिकित्सक, एक महिला चिकित्सक हुन् ।
प्रतिक्रिया