परराष्ट्रमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै

परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा छिन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

आइतबार नयाँदिल्ली पुगेकी मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्क प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरे।

भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग आज दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ,’ मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज आयोजना गरेका छन् । उनको यो भ्रमण नेपाल–भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको मन्त्रालयले जनाएको छ । मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् ।

राणा भदौ ६ मा स्वदेश फर्कनेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *