सहकारी सञ्चालकसँगको शोधपुछ अन्तिम चरणमा, अब प्रतिवेदन लेखनमा केन्द्रित हुने
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ।
शनिबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति सूर्य थापाले शोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताए।
उनले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरुसँग बयान लिने काम लगभग सकिएको बताए। उनले आजको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर शोधपुछ गरेको बताए।
उनले पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग सम्बद्ध मधुसुदन पाठकसँग शोधपुछ गरेको पनि बताए।
उनले समितिले धरान उपमहानगरपालिकको नियमनमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि शोधपुछ गरेको बताए।
प्रतिक्रिया