राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्ने बताएकी छन्।

शनिबार काठमाडौँमा वामपन्थी नेता तथा पूर्व सांसद गणेश पण्डितको स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले कुनै पनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार मापन गर्न सक्नुपर्ने बताएकी हुन्।

गणेश पण्डितको मूल्यांकन पनि सोही कोणबाट गर्नुपर्ने उनको भनाइ थियो। उनले स्व. पण्डितले २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहालीलाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखि राजनीतिमा होमिएको स्मरण गरिन्।

उनले अनेक यातना र जेलनेल भोग्दासमेत कष्टपूर्ण यात्रामा राजनीतिमा हामिनु महत्वपूर्ण भएको बताइन्।

उनले भनिन्, ‘कुनै पनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार हामीले मापन र मूल्यांकन गर्नुपर्छ। गणेश पण्डितको मूल्यांकन पनि यही कोणबाट गरिनुपर्छ। २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहालीलाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखि व्यवस्थाको विपक्षमा उहाँ जनपक्षीय राजनीतिमा होमिनुभएको थियो। व्यक्तिगत लाभका अनेकौँ अवसरहरु थिए होलान् तर तिनीहरुलाई बेवास्ता गर्दै जिल्लाको शैक्षिक उन्नयनका लागि समर्पित हुनुभएका स्व. पण्डितले पञ्चायती कालरात्रीको समयमा अनेक यातना र जेलनेल भोग्दासमेत राजनीतिक कष्टपूर्ण यात्रामा राजनीतिमा होमिनुभयो। त्यसैले अफ्ठ्यारो परिस्थितिमा समेत निडरताका साथ देश र जनताको पक्षमा उभिनुभयो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *