सोलुखुम्बुको बाढीबारे मौसम विभागले भन्यो- तापक्रम वृद्धिले हिमताल विस्फोट भएको हुनसक्छ
जल तथा मौसम विज्ञान विभागले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढीबारे प्रारम्भिक धारणा सार्वजनिक गरेको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ ।
‘अतः माथि उल्लेख भएबमोजिमका विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
सो बाढीको कारण जल तथा मौसम विज्ञान विभागको दुधकोशी र बुवाबजार बाढी मापन केन्द्र, खोटाङमा जलसतह आज साँझ ५ः१० बजे ४.२९ मिटरबाट ३० मिनेटमा एक्कासी करिब १.२० मिटर बढी साँझ ५ः४० बजे ५.५३ मिटर पुगेको थियो ।
तर, सो समय पश्चात बिस्तारै बाढीको सतह घट्न थालेकोले रबुवाबजार भन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठुलो जोखिम नहुने देखिएपनि दुधकोशीको नदीतटीय क्षेत्रमा भोलि बिहानसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यस घटनाको सम्बन्धमा विभागले थप अध्ययन गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया