युवाहरूलाई उपप्रधानमन्त्री सिंहको आग्रह- बिदेसिनबाट रोक्न के गर्न सकिन्छ सुझाव दिनुस्

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रूपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी विस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीसँग आग्रह गरे । नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्ने उनले बताए ।

‘प्लस टु सकिसकेपछि विद्यार्थीहरू विदेश जाने ट्रेन्ड छ । यत्रो पपुलर इन्जिनियर कलेजमा विद्यार्थी कम छन् । हामीले नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्छ । यहीँ बसेर काम गर्न के चाहिन्छ, त्यो सुझाव दिनुभयो भने सरकारले त्यसमा सहयोग गर्नेछ,’ मन्त्री सिंहले भने, ‘जनप्रतिनिधि हुँदैमा सबै कुरा थाहा हुँदैन नि, सुझाव दिनुस् । ऐनमा संशोधन गर्न परे गरौंला । हामी सबै समाजलाई सकारात्मक दिशामा रूपान्तरण गर्न एकरूपता कायम गरी अघि बढ्नुपर्छ ।’

उनले नेपालमै बस्ने वातावरण बनाउन युवा जगतलाई उपयुक्त सुझाव दिन पनि आग्रह गरे । उनले अधिकारका लागि लडेर ल्याएका अधिकारहरूको संरक्षणमा जुट्न पनि आह्वान गरे । उनले विरोधको नाममा विरोध गर्दा प्राप्त अधिकार पनि गुम्न सक्ने खतरा हुने बताए ।

उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थाबाट देशलाई अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गरे । उनले नागरिकको अपेक्षाअनुसार देश विकास गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले जनताका माग पूरा गर्नकै लागि अहिलेको सरकार बनेको दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *