सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गर्नुस् : मन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन् ।

काठमडौंमा शुक्रबार राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै उनले नेपालीहरूले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासनको अभाव रहेको बताएका हुन् ।

उनले सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको बताए । उनले जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याए पनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने बताए ।

उनले सुशासनको अभावका कारण ठीक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको भएको बताए ।

मन्त्री गुरूङले भ्रष्टाचार भइरहने, बिचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न जरूरी रहेको बताए । उनले सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गरी उनीहरूलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताए ।

‘मिडियाले आफ्नो भूमिका राम्रोसँग पूरा गर्ने हो भने सरकार उत्तरदायी हुन बाध्य हुन्छ जनता र मुलुकको समस्याप्रति,’ मन्त्री गुरूङले भने, ‘सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गर्नुपर्छ । उनीहरूलाई रेस्पोन्सिबल बनाउनुपर्छ ।’

मन्त्री गुरूङले सरकारको विपक्षमा बस्ने काम मिडियाको नभएको बताए । उनले नराम्रो काम गरेको ठाउँमा निर्मम हुनुपर्ने र राम्रो कामको पक्षमा वकालत गर्नुपर्ने बताए । सञ्चारमाध्यम सरकारको आलोचनासँगै सत्यतथ्यमा आधारित हुनुपर्ने बताए ।

उनले सरकारको भजन गाउनु नपर्ने भन्दै भ्रष्टाचारको ढाकछोप नगर्न पनि आग्रह गरे । प्रधानमन्त्री र मन्त्रीहरूको प्रशंसा गर्न आवश्यक नरहेको तर सही काम गर्नेहरूलाई प्रेरित गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *