डेंगु नियन्त्रणका लागि लागि स्वास्थ्य मन्त्रालयले सुरू गर्‍याे कार्यालय सरसफाइ अभियान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरू गरेको छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाइ अभियान सुरू गरेको हो ।

निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर/कार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग आग्रह गरेको छ ।

शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरू मिलेर मन्त्रालय सरसफाइमा जुटे । मन्त्रालयबाट सुरू गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्‍याउने अपेक्षा मन्त्रालयको छ ।

अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरूलाई हेर्दा यस वर्ष संख्यात्मक रूपमा डेंगु कम देखिए पनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाइ अभियान सुरू गरेको बताए । उनले डेंगुको नियन्त्रण र न्यूनीकरणका लागि गत हप्तादेखि नै संघीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रबार सरसफाइ अभियान सुरू गरेको बताए ।

उनले पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिए । उनले भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्यमन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि बताए । हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाइको अभियान चलाउन उनले आग्रह गरे ।

प्रवक्ता बुढाथोकीले सरसफाइ अभियानले डेंगुमात्र नभई अन्य रोगहरू पनि नियन्त्रण र रोकथाम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउन सके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने सरकारको विश्वास छ । डेंगु खोज्ने र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन उनले आग्रह गरे ।

डेंगु रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्न गर्न सकिने चिकित्सकहरू बताउँछन् । खोज र नष्ट विधि घरदेखि ठूला सामुदायिक अभियानहरूसम्म सबै स्तरमा लागू गर्न सकिने विज्ञहरूको भनाइ छ । यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र समुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरूको सुझाव छ ।

समुदायलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गर्दा यसले डेंगु रोकथाम प्रयासमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न मद्दत पुग्ने चिकित्सकहरूको विश्वास छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *