वीर अस्पतालका १२ सय कर्मचारीले अझै पाएनन् कोभिडमा खटिएको भत्ता

कोभिड– १९ का वेला सेवामा खटिएका वीर अस्पतालका स्वास्थ्यकर्मीले हालसम्म पनि सेवा विस्तार तथा कोभिड भत्ता पाएका छैनन् । ०७७ मंसिरदेखि ०७८ असारसम्म आठ महिना खटिएका एक हजार दुई सय कर्मचारीले भत्ता पाउन नसकेका हुन् ।

स्वास्थ्य मन्त्रालयले ०७७ मा कोभिडमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने घोषणा गरेको थियो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्यरत कर्मचारी, नर्सिङ कार्यक्रमका कर्मचारी र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले कोभिड भत्ता बुझिसके पनि न्याम्सअन्तर्गतकै वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले भने सेवा विस्तारबापतको भत्ता पाएका छैनन् । स्वास्थ्यकर्मीले सेवा विस्तार भत्ता नपाएको गुनासो गरेपछि १२ असोज ०७९ मा स्वास्थ्य मन्त्रालयमा सचिव रोशन पोखरेल, वीर अस्पताल तथा चिकित्सक एसोसिएसनका तर्फबाट प्रा.डा. भूपेन्द्र बस्नेतलगायतबीच भत्ता दिनेबारे सहमति भएको थियो ।

भत्ता दिने प्रबन्ध स्वास्थ्य मन्त्रालय र न्याम्सले मिलाउने भन्नेबारे निर्णय भए पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । वीर अस्पताल आर्थिक प्रशासन महाशाखाका अनुसार ३५० चिकित्सक, चार सय नर्स र अन्य कर्मचारी गरी एक हजार दुई सयजनाले भत्ता नपाएका हुन् । एक हजार दुई सय कर्मचारीलाई भत्ता दिन करिब १७ करोड बजेट आवश्यक पर्ने आर्थिक प्रशासन महाशाखाको अनुमान छ । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *