माओवादी केन्द्रीय कमिटी बैठक असोज पहिलो साता
नेकपा (माओवादी केन्द्र)ले असोजको पहिलो हप्ता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले असोजको पहिलो हप्ता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
केन्द्रीय कमिटी बैठकअगाडि सबै प्रदेशमा जनवर्गीय मोर्चा (जबस मोर्चा), सल्लाहकार समिति र आयोगहरुको परामर्श समिति बैठक बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
प्रदेशका बैठकहरुमा अध्यक्षदेखि उपमहासचिवसम्मका पदाधिकारीहरु उपस्थित हुने उनले बताए। उनले बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते, गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्ने बताए।
उनका अनुसार ३ वटा केन्द्रीय आयोगको १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिष्ट मञ्चको २९ र ३० गते र जवस, मोर्चाहरुको २७ र २८ गते बैठक बस्नेछ। प्रवक्ता सापकोटाले प्रदेशहरुको बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशको पनि बैठक बस्ने जानकारी दिए।
प्रवक्ता सापकोटाले बैठकले सदन, सडक र माओवादी केन्द्रको नेतृत्व रहेको १२२ स्थानीय तहमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको बताए।
प्रतिक्रिया