भरतपुर क्यान्सर अस्पतालकी लेखा अधिकृतविरूद्ध ७ लाखको भ्रष्टाचार मुद्दा

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनीविरूद्ध दुईवटा कसुरमा ७ लाख रूपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको हो ।

उनले आफू कार्यरत अस्पतालमा औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग नगद र चेकमा गरी ६ लाख रूपैयाँ घुस लिएको आरोप छ ।

घुसबापत लिएको १ लाख ५० हजार रूपैयाँ नगद र ४ लाख ५० हजार रूपैयाँको चेकसहित अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई केहीअघि नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानमा उनले आर्थिक वर्ष २०८०/०८१ अस्पतालमा औषधि सप्लाइ गरेबापत नियमअनुसार पाउनुपर्ने रकमको भुक्तानी दिनका लागि सेवाग्राहीसँग ६ लाख रूपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यस कसुरमा उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ६ लाख रूपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ ।

यस्तै उनले सेवाग्राहीसँग २०७९ जेठ २८ गते ४४ हजार रूपैयाँ र सोही वर्ष कात्तिक ६ गते ६० हजार रूपैयाँ गरी १ लाख ४ हजार रूपैयाँ सापटी भनेर लिएकी थिइन् ।

उक्त रकम दुई वर्षभन्दा बढी समय भइसक्दासमेत फिर्ता नगरेको पाइएको अख्तियारले जनाएको छ ।

उनले सेवाग्राहीसँग व्यावसायिक आचरणविपरीत आफू बहाल रहेको पदअनुसार सम्पादन गर्नुपर्ने कामसँग सम्बन्धित व्यक्तिसँग सापटी लिएको पुष्टि भएको र सो कसुर पनि भ्रष्टाचारको रहेको भन्दै मुद्दा दर्ता गरिएको छ ।

यसमा उनीविरूद्ध सो रकम बराबर बिगो कायम गरी कैद र बिगो जफतको मागदाबी लिइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *