करिब ३० अर्बको कारोबारसहित शेयर बजारमा नयाँ कीर्तिमान, नेप्से तीन हजार बिन्दुमाथि

साउन महिना र साताको अन्तिम कारोबारका दिन बिहीबार शेयर बजारको कारोबार रकममा नयाँ कीर्तिमान कायम भएको छ ।

नयाँ सरकार बनेसँगै पछिल्लो एक महिनादेखि नेपाली पुँजीबजारमा नयाँ-नयाँ रकर्ड बन्दै आएको छ । सोमबार २७ अर्ब २४ करोड रूपैयाँ बराबरको कारोबार गरेर नयाँ रेकर्ड नेप्सेले बिहीबार तोडेको छ ।

गत सोमबार २७ अर्ब २४ करोड रूपैयाँको शेयर कारोबार भएकामा बिहीबार उक्त कारोबार रकमको रेकर्ड तोड्दै उच्च रेकर्ड कायम भएको हो । कारोबार रकममा नयाँ रेकर्ड बनाउँदै नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा पुगेको छ ।

साताको अन्तिम कारोबार दिन नेप्से भने साढे १ प्रतिशत बढेर ३००० बिन्दुभन्दा माथि पुगेको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स १६.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४४ अंकले बढेको छ ।

बिहीबार कारोबारमा आएका ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख रूपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत सोमबार उक्त कारोबार रकम २७ अर्ब २४ करोड रूपैयाँ बराबर थियो ।

१३ उपसमूहमध्ये बैंकिङ उपसमूहको परिसूचक ५.६५ प्रतिशत बढेको छ । त्यस्तै म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर कारोबारमा आएको वित्त उपसमूहको परिसूचक ३.०५ प्रतिशत घटेको छ ।

बिहीबार ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबी बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । बिहीबार कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको ९१ करोड ३३ लाख रूपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर