नेपालमा मनाइयो भारतको ७८ औं स्वतन्त्रता दिवस

नेपालमा भारतको ७८ औं स्वतन्त्रता दिवस मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासले बिहीबार विशेष कार्यक्रमसहित स्वतन्त्रता दिवस मनाएको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रम सुरू गरेका थिए ।

त्यसपछि कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पारिएको थियो र भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

सो अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५.५० करोड नेपाली रूपैयाँ र कम्बल वितरण गरी सम्मान गरे ।

साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवं १०७ मृतक सदस्यका निकटतम नातेदारहरूका लागि १२.५५ करोड नेपाली रूपैयाँ भुक्तानी दिइएको छ । यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रमअन्तर्गत वर्ष २०२४ का लागि डेथ-इन-सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानीलगायतका लाभहरू समावेश छन् ।

दूतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गर्‍याे । यस पहलले प्राप्त अनुरोधको प्रत्युत्तरमा दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ ।

दूतावासका अधिकारी तथा उनीहरूका परिवारका अलावा नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा भारत निकटस्थहरूले स्वतन्त्रता दिवसको उत्सवमा सहभागिता जनाएका थिए । कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *