सिन्धुलीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते

सिन्धुलीमा आज बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बिहीबार बिहान सवा ९ बजेतिर कमलामाई नगरपालिका-२, चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २० च ८२८३ नम्बरको जीप आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६, नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्रांगी र ३५ वर्षका पवन मस्रांगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एक प्रहरी अधिकारीले जानकारी दिए । उनीहरूको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते ११ जनामध्ये जीप चालक गोलञ्जोर-६ का ३२ वर्षीय टीकाजंग राई (हायु) को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । चालकसँगै गोलञ्जोर-६ का २२ वर्षीय उदय लुंगेली, १७ वर्षीया मेनुका मगर र ३७ वर्षका हिमाल परियारलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

गोलञ्जोर-६ कै १८ वर्षीया जिना श्रेष्ठ, पवन मस्रांगी, ७ वर्षीया धनमाया वाइबा, २४ वर्षीया लिला मगर, २२ वर्षीया समिना मगर, १९ वर्षीया वन्दना कोइराला, ३७ वर्षीय हिमाल परियार, ५६ वर्षका राजनप्रसाद कोइराला र कमलामाई-५ की ७८ वर्षीया डम्बरकुमारी कार्की घाइते छन् । उनीहरूको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *