
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी र करिश्मा मानन्धरसहित ६ जना आकांक्षी


चलचित्र विकास बोर्डको आगामी अध्यक्ष पदका लागि ६ जनाले आकांक्षा देखाएका छन् ।
आवेदन दिने अन्तिम म्याद बुधबारसम्म बोर्डको अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डीसी, अभिनेत्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार डंगोलले आवेदन दिएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र अध्यक्ष पदका लागि आवेदन दिन भनेको थियो ।
आवेदन दिएकाहरूको योग्यता पुग्ने वा नपुग्ने परीक्षण हुन बाँकी छ ।
त्यसपछि मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गर्ने छ । यीमध्ये सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ ।
समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्छ ।
यसअघि बोर्डको अध्यक्ष अभिनेता भुवन केसी थिए ।
प्रतिक्रिया