मानव बेचबिखनको आरोपमा चिनियाँसहित तीन जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पोखरामा एक चिनियाँ नागरिकसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा चीनको हुनान प्रान्त स्थायी घर भई पोखरा महानगरपालिका वडा नंम्बर ६ लेकसाइड खहरेस्थित पारामाउन्ट गेष्ट हाउसमा बस्ने वर्ष ३१ का जेडहाइ मिङ चेन, लम्जुङ घर भई पोखरा १६ संगमटोल बस्ने २२ वर्षीया सरु बिक र पोखरा २२ आर्वा बस्ने ३४ वर्षीया भगवती अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार १४ वर्षीया एक बालिकालाई उनको अभिभावकलाई कुनै जानकारी नदिई सरु र भगवतीले तिमी दुःख पाएकी केटी रहेछौ, हामीहरुले चाईनिज नागरीकलाई चिनेका छौँ, तिमीले ऊसँग विवाह गरे भविश्य राम्रो हुन्छ भनेर ललाई फकाई १३ साउनमा जेडहाइसंग विवाह गराइदिएका थिए । जेडहाई ९० दिनको भिजिट भिषामा नेपाल आएका थिए ।

सरु र भगवतीले जेडहाइसँग आर्थिक लाभ लिई ती बालिकाको विवाह गराइदिएपछि लेकसाइडस्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा जेडहाईले वालिकालाई बन्धक बनाई राखेका थिए । बन्धक अवस्थामा रहेकी पीडित वालिका होटलबाट भाग्न सफल भएकी थिइन्।त्यसपछि ती बालिकाले आफ्नो अभिभावकसंग समन्वय गरी उनकी आमाले आफ्नो छोरीलाई बेचबिखन गर्ने उद्धेश्यले ललाइफकाइ प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगेर बन्धक बनाई राखेका हुँदा कारबाही गरी पाँउ भनी मानव बेचबिखन तथा ओसारपसार कसूरमा मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपछि खटिएको प्रहरी टोलीले उनीहरु तीनजनालाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुलाई बुधबार कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्धामा पाँच दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धानअगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *