सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

नेपाली कांग्रेसबाट दोस्रो पटक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त भएको हो ।

शाहले सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेशसभा सदस्यले मतदान गरेका हुन् । ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।

बैठकमा सहभागी माओवादी केन्द्रका ४ र नेकपा (एकीकृत समाजवादी) पार्टीका ४ गरेर ८ जना प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरेका छन् । स्वतन्त्र प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशी भने तटस्थ बसेका छन् । राप्रपाकी खेमादेवी विष्ट र माओवादी केन्द्रका ६ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिएनन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्रदेशसभा सदस्यले मतदान गरेको भन्दै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गरेका थिए ।

संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस र एमालेको गठबन्धन बनेपछि २० साउनमा शाह मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए । २१ साउनमा पदभार ग्रहण गरेका शाहले सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । शाहले यसअघि माओवादी, एकीकृत समाजवादीसहितको समर्थनमा १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै प्रदेश सरकारले अब चाडै चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट राजनीतिक समीकरण फेरिएपछि प्रदेशसभाबाट पारित हुन सकेको थिएन । बजेट पारित नभएपछि सुदूरपश्चिम १ साउनदेखि बजेट शून्यतामा गएको थियो ।

शाह नेतृत्वको सरकार आएपछि तत्काल रोकिएको राजश्व संकलनको कामलाई सुचारू गर्न सामयिक कर संकलनसम्बन्धी अध्यादेश ल्याएको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले उक्त अध्यादेश प्रमाणीकरण गरेपछि मंगलबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले स्वीकृतसमेत भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर