शान्ति प्रक्रियामा नेपालले पाएको सफलता विश्वमै उदाहरणीय : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले शान्ति प्रक्रियामा हासिल गरेको सफलता दुनियाँका लागि दृष्टान्तयोग्य हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीको सो दाबी गरेका हुुन् ।

उनले नेपालले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनका लागि सबै राजनीतिक दलहरूको सहमतिमा कानुन बनाउने काममा प्राप्त गरेको सफलताले द्वन्द्व व्यवस्थापन, शान्ति स्थापना र त्यसलाई दिगो ढंगले कायम राख्नका लागि दुनियाँलाई उपयोगी हुनेमा दुविधा नराख्न आग्रह गरे ।

केही देशहरूमा अलि सुन्दर ढंगले शान्ति प्रक्रियाका काम अघि बढे पनि त्यसलाई व्यवस्थापन गरेर अघि बढ्ने सवालमा नेपालले प्रस्तुत गरेको दृष्ष्टान्त अरूका लागि पनि अनुकरणीय हुने प्रधानमन्त्री ओलीको भनाइ थियो । आफ्नै प्रयासबाट अगाडि बढेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काम गरिएको उल्लेख गर्दै उनले त्यो सफलता दुनियाँका लागि नमुनका रूपमा रहने बताए ।

हेर्नुहाेस् भिडियाे 

‘शान्ति प्रक्रियाका अन्य तमाम कुराहरू हामीले कहिले अलि तीव्र वेगमा, कहिले अलि धिमा गतिमा तर सकारात्मक ढंगले समाधानमा पुर्‍याएका छौं । समाधान हुँदै आएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘र, दुनियाँका लागि एउटा नमुनाको रूपमा शान्ति प्रक्रिया द्वन्द्वलाई व्यवस्थापन गर्ने प्रक्रिया, फेरि द्वन्द्व नहोस् भन्ने प्रक्रिया त्यसलाई हामीले अगाडि बढाएका छौं । द्वन्द्वको मेन्स्ट्रिममात्रै होइन, त्यसबाट अलगथलग भएर द्वन्द्वका नीति र अभ्यासहरू जारी राखेका समूह वा पृथकताको सोच बोकेका समूहजस्ता अनेक समूहहरूलाई हामीले शान्ति र लोकतन्त्रको राष्ट्रिय राजनीतिको मूलधारमा ल्याइसकेका छौं ।’

प्रधानमन्त्री ओलीले कानुनबमोजिम संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने गरी सबै दलको सहमतिमा छिटो भन्दा छिटो आयोग बनाएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले सरकारले संविधानको पालना गर्ने कुरामा कुनै कसर नराख्ने पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *