अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजी गरिदिन राजदूतसँग आग्रह

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग सिड्नी शहरबाट हराएका सुभाष बोलखेको खोजीका लागि अनुरोध गरेका छन् ।

अध्ययनका सिलसिलामा नौ महिनाअघि अष्ट्रेलियाको सिड्नी पुगेका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ का २७ वर्षीय बोलखे १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगर प्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका हुन् ।

बोलखेका परिवारका सदस्यसहित काठमाडौँको महाराजगञ्ज-चक्रपथस्थित अष्ट्रेलियन दूतावास पुगीे आफ्नो क्षेत्रका प्रतिभावान विद्यार्थी बोलखेको खोजतलाख गरेर पछिल्लो अवस्थाका बारेमा जानकारी दिएर सहयोग गरिदिन अनुरोध गरेको नगर प्रमुख खरेलले बताए ।

‘राजदूत भोल्कले तत्काल जनशक्ति परिचालन गरी आवश्यक खोजबिनसहित सम्पर्कविहीन अवस्थामा रहेका विद्यार्थी बोलखेका बारेमा यथार्थ जानकारी गराउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ,’ प्रमुख खरेलले भने ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी शहरमा नौ महिनादेखि एक्लै बस्दै आएको जानकारी दिँदै पिता सुदर्शन बोलखेले भने, ‘अठार दिनदेखि सुभाष हामीसँग सम्पर्कविहीन भएका छन्, यतिखेर हामी तनावमा छौँ, राजदूतसँगको भेटपछि केही आशा पलाएको छ । खोजबिनका लागि सम्बद्ध सबैसँग अनुरोध गर्दछौँ ।’

सो अवसरमा नगर प्रमुख खरेलले राजदूत भोल्कलाई सुभाषको कागजातसहित खोजबिनका लागि निवेदन दिएका छन् । औपचारिक भेटघाटलगत्तै दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएको बारे उनको हुलियासहित जानकारी गराउँदै देख्ने-भेट्नेलाई खबर गर्न आग्रहसमेत गरेको छ ।

यसैगरी बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली समुदाय र अन्य सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *