कर्मचारीहरूलाई अर्थमन्त्री पौडेलले भने : सरूवा-बढुवाका लागि मन्त्री र नेताहरूकहाँ नधाउनुस्

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् ।

ललितपुरमा बुधबार आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवा प्रवेश तालिम समापन समारोहमा उनले राष्ट्रसेवकहरू यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे ।

उनले पोसाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरू बुझेर यथोचित ढंगले सम्बोधन गर्न निर्देशन दिए । उनले आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए ।

‘राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने यदाकदा त्यस खालका प्रवृत्तिहरू पनि देखा पर्ने गर्दछन् । सेवाग्राही टाइसुट लगाएर आएको होला, चस्मा, कोट लगाएर आएको होला, झुत्रेझाम्रो पोसाकमा आएको होला । त्यो सबैप्रति समान व्यवहार गर्न सिक्नुपर्ने छ,’ उपप्रधानमन्त्री पौडेलले भने, ‘त्यो सेवाग्राहीले कस्ता समस्या लिएर आएको छ, उसका अपेक्षाहरू जायज/नाजायज के छन्, त्यसलाई बुझेर यथोचित ढंगले सम्बोधन गर्नेभन्दा पनि रूखो, तीतो र टर्रो व्यवहार गर्ने प्रवृत्ति पनि यदाकदा देखा पर्दछन् । आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्छ ।’

उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गरी सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे । उनले हाकिमको आदेशभन्दा पनि कानुन, राष्ट्र र नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले सरूवा-बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे । उनले सरूवा-बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरू राख्न आग्रह गरे ।

उनले सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताए । उनले उनीहरू राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए ।

‘पोष्टिङजस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्कहरू राख्नुहोला । तर नेता, मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानुहोला,’ उनले भने, ‘सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि उनीहरू वास्तवमा निरीह र कमजोर हुन पुग्छन् । उनीहरू राष्ट्रको सेवाभन्दा पनि जसको सोर्समा पदस्थापन, बढुवा, सरूवा हुन्छन्, उनीहरू अनुगृहित हुने स्थिति सिर्जना हुन्छ । त्यो बाटो नहिँड्नुहोला ।’

उपप्रधानमन्त्री पौडेलले पछिल्ला दिनहरूमा केही गम्भीर चुनौतीको सामना गरिरहेको बताए । राजस्व परिचालनका दृष्टिकोणले लक्ष्य भेदन गर्न अफ्ठ्यारो परिरहेको र बेरूजु बढिरहेको उनको भनाइ छ । लेखा प्रणाली चुस्तदुरूस्त हुन नसकिरहेको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *