बंगलादेशको अदालतमा हसिनाविरूद्ध दर्ता भयो पहिलो मुद्दा

बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरूद्धको मुद्दा दर्ता गरिदिएको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सइदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकार गरेको हो ।

अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ ।

ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम) अदालतका मजिस्ट्रेट राजेश चौधरीले दिउँसो उक्त आदेश दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।

दण्ड संहिताको धारा ३०२ बमोजिम मुद्दाको संज्ञान लिएकाले अभियुक्तहरूविरूद्ध पक्राउ पुर्जी जारी गरिने व्यवस्था छ । हसिना स्वदेश फर्किएमा यही मुद्दाका कारण पक्राउ पर्न सक्ने छिन् ।

अन्य अभियुक्तहररूमा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्वगृहमन्त्री असदुज्जमान खान कमल, पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह अल मामुन, पूर्व डीबी प्रमुख हरूनोर रशिद, पूर्व डीएमपी आयुक्त हबिबुर रहमान र पूर्व डीएमपी संयुक्त आयुक्त विप्लव कुमार सरकार रहेका छन् ।

यसका साथै धेरै अज्ञात उच्च प्रहरी अधिकारी र सरकारी अधिकारीहरू पनि मुद्दामा अभियुक्त रहेका बुझिएको छ । यसअघि मोहम्मदपुर निवासी अमिर हम्जा शातिलले सीएमएम अदालतमा मुद्दा दायर गरेका थिए ।

हम्जा बोसिलामा कोटा सुधार आन्दोलनको समर्थनमा जुलुसका क्रममा प्रहरीको गोलीबाट मारिएका किराना पसलका मालिक अबु सइदका शुभचिन्तक हुन् । हम्जाले भने कि सैद घनिष्ठ मित्र नभए पनि बंगलादेशको नागरिकको रूपमा मुद्दा दायर गर्न स्वेच्छाले उजुरी दिएका हुन् । सैदको परिवार पञ्चगढको बोडा उपजिल्लामा बस्छ ।

कोटा सुधार आन्दोलनका क्रममा नागरिकको ज्यान गएको चर्को विरोधको सामना गर्दै अगस्ट ५ मा देश छाडेर भागेकी शेख हसिनाविरूद्धको यो पहिलो मुद्दा हो ।

सोमबार युवा तथा खेलकुद सल्लाहकार आसिफ महमुदले कोटा सुधार आन्दोलनका पीडितहरूलाई बंगलादेशभर आक्रमणकारीहरूविरूद्ध मुद्दा दायर गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *