हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखियो : सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको बताएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले हवाई दुर्घनाको विषय छैटौं पटक संसदमा विषय उठान भएपनि सरकारले अहिलेसम्म सुनुवाइ गर्न नसकेको बताइन्।

उनले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको भन्दै तत्काल सरकारले समाधान गर्न आवश्यक रहेको बताइन्।

उनले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको भन्दै सरकारले तत्काले उक्त विधेयक ल्याउन जरुरी रहेकोमा जाेड दिइन्।

उनले सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिए पनि उक्त विधेयक संसदमा आउन नसकेको बताइन्।

सांसद गाैतमले यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको भन्दै उक्त अडियोबाट प्रष्टसँग लापरबाही भएको सुन्न सकिने बताइन्।

उनले नियामक निकायको नियमन फेल भएकै कारण इयुको कालोसूचीमा पर्नु र आइकाओ अडिटमा कम नम्बर दिएको दाबी गरिन्।

उनले हवाई सुरक्षाको निम्ति प्राविधिक रूपमा गर्नुपर्ने खर्च सरकारले नगर्दा पनि हवाई यात्रा असुरक्षित बन्दै गएको पनि उल्लेख गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *