बन्द हुँदै उद्योग, घट्दै निर्यात

मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात दर बर्सेनि घट्ने क्रममा छ । औद्योगिक उत्पादनमा आएको कमीले बर्सेनि छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलुकसँगको निर्यात व्यापार निरन्तर ओरालो लागेको तथ्याङ्कले देखाएको छ ।

हेटौँडा औद्योगिक क्षेत्रभित्र मात्रै सयभन्दा बढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीले औद्योगिक उत्पादन गरिरहे पनि उत्पादित सामग्री विदेशी निर्यातको अवस्था भने निराशाजनक रहेको तथ्याङ्क छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा मकवानपुरबाट करिब सवा ५९ करोड रुपियाँको औद्योगिक उत्पादन भारतलगायत तेस्रो मुलुकमा निर्यात भएको मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्कले देखाउँछ । सङ्घका अनुसार आव २०७९/८० मा करिब ६८ करोड रुपियाँको निर्यात भएको थियो । त्यसअघि आव २०७८/७९ मा चार वटा उद्योगले तीन अर्ब चार करोड रुपियाँको औद्योगिक उत्पादन निर्यात गरेकोमा गत आवमा करिब ५९ करोड रुपियाँमा खुम्चिएको हो ।

पेय पदार्थको बिर्को उत्पादन गरी भारत निर्यात गर्ने प्याक्ट गु्रप क्लोजर सिस्टम नेपाल प्रालि र पानमा प्रयोग हुने मसला निर्यात गर्ने हिमालय कत्थाले मकवानपुरको निर्यात व्यापारमा सबैभन्दा धेरै योगदान गरिरहेको छ । गत आवमा प्याक्ट गु्रपले मकवानपुरबाट ३० करोड ७४ लाख ३३ हजार रुपियाँको सामग्री निर्यात गरेको थियो । बहुराष्ट्रिय उद्योगको पेय पदार्थको बिर्को उत्पादन गरिरहेको उक्त कम्पनीले आव २०७९/८० मा पनि ३१ करोड ८४ लाख रुपियाँको सामान भारत र अस्ट्रेलिया पठाएको थियो ।

प्लास्टिकको बोरा उत्पादन गरी निर्यात गरिरहेको गोदावरी पोलिप्याक्स एन्ड फेबिक प्रालिले विगतका वर्षमा करोडौँको निकासी गरिरहेकोमा गत वर्ष शून्य निर्यात गरेको छ । आव २०७८/७९ मा एक अर्ब ४२ करोड ६८ हजार रुपियाँको सामान निर्यात गरेको गोदावरी पोलिप्याक्स एन्ड फेबिक प्रालिको निर्यात आव २०७९/८० मा ७२ लाख ४७ हजारमा खुम्चिएको थियो । गत वर्ष भने गोदावरीको निर्यात शून्य भएको हो ।

आव २०७९/८० मा १७ करोड ८८ लाखको निर्यात गरेको हिमालय कत्था उद्योगको निर्यात भने गत वर्ष २३ करोड ७५ लाख रुपियाँमा उक्लिएको छ । ऋद्धिसिद्धि सिमेन्टले पनि गत वर्ष ४६ लाख ९६ हजार रुपियाँको सिमेन्ट निर्यात गरेको तथ्याङ्क सङ्घले दिएको छ ।

स्थानीय जडीबुटीको प्रयोग गरी क्यान्सरको औषधी उत्पादन गर्ने इभान्स लाइफ साइन्सेस प्रालिले पनि गत वर्ष तीन करोड ५३ लाख रुपियाँको सामग्री निर्यात गरेको तथ्याङ्क छ । त्यसअघि आव २०७९/८० मा कम्पनीको निर्यात दुई करोड ५४ लाख रुपियाँ मात्रै थियो । यसै गरी सिक्स भिल्ला प्रालिले ४४ लाख ७८ हजार रुपियाँको सामग्री दुबई निकासी गरेको थियो भने नेपाल इकरात इन्जिनियरिङ कम्पनीले २४ लाख ९२ हजार रुपियाँको ट्रान्समिटर भार निकासी गरेको मकवानपुर उवासङ्घका सहायक अधिकृत विजय भण्डारीले जानकारी दिए ।

त्यस्तै बिस्कुट उत्पादन गर्ने खजुरीले एक लाख १७ हजारको सामग्री विदेश निर्यात गरेको छ । आर्थिक मन्दीलगायतका कारण निर्यात व्यापार खुम्चँदै गएको उद्योग सङ्घले जनाएको छ । मकवानपुरमा भएका बहुर्राष्ट्रिय कम्पनीले पनि आफ्नो उत्पादन नेपालमै सीमित गर्नु र धेरै उद्योग बन्द हुँदा मकवानपुरको निर्यात व्यापारमा कमी आएको सङ्घका सहायक अधिकृत भण्डारीले बताए ।

बर्सेनि करोडौँको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोल्गेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेस्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योग बन्द भइसकेका छन् । त्यस्तै एभरेस्ट पोलिमर्स, एभरेस्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एन्ड टानिङ जस्ता उद्योग पनि हाल अस्तित्वमा छैनन् ।

एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता बहुर्राष्ट्रिय उद्योगले पनि १० वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केही बर्षअघिदेखि भारत निकासी बन्द गरिसकेको छ । मकवानपुरबाट व्रmसरजन्य उत्पादन विदेश निकासी बन्द भएपछि निर्यातजन्य व्यापारमा ठुलो प्रभाव परेको छ ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *