एआईजी बज्राचार्यले सम्हालिन् उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी
काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सम्हालेकी छन्। योसँगै उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी छन् ।
सोमबार रानीपोखरीस्थित कार्यालयबाट सरुवा भएका एआईजी दीपक थापालाई बिदाइ गर्दै बज्राचार्यले जिम्मेवारी सम्हालेकी हुन्। एआईजी थापाको सीआईबीमा सरुवा भएको छ ।
जिम्मेवारी सम्हाल्दै बज्राचार्यले हरेक प्रहरी कर्मचारीले उच्च व्यावसायिकताका साथ सुरक्षा प्रदान गरेको खण्डमा मात्र नेपाल प्रहरीको छवि उच्च हुने बताइन् ।
उनले आधुनिक समयमा आपराधिक समूहद्वारा फरकफरक तवरबाट आपराधिक गतिविधि गर्ने हुँदा प्रहरी चनाखो हुनुपर्ने बताइन् । उनले काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन सबै लाग्नु पर्ने बताइन् ।
उनले भनिन्, ‘काठमाडौंको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिविम्बको रूपमा रहन्छ । त्यसैले उपत्यका प्रहरीले अति उत्कृष्ट तवरबाट कार्यसम्पादन गर्नुपर्छ। आधुनिक समयमा आपराधिक समूहद्वारा फरकफरक तवरबाट आपराधिक गतिविधि भइरहेका छन् । त्यसका सूचना संकलनमा प्रभावकारीरूपमा लागी प्राप्त हुन आएका सूचनालाई विधि, प्रविधि र प्रभावकारी तवरले प्रहरी परिचालन गरी काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन लाग्नुपर्छ ।’
प्रतिक्रिया