जंगी अड्डाको निरीक्षण गर्दै रक्षामन्त्रीले भने- सेनाको क्षमता अभिवृद्धि र संगठनात्मक सुदृढीकरणमा सकारात्मक भूमिका रहन्छ

रक्षामन्त्री मानवीर राईले सोमबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । रक्षामन्त्रीमा नियुक्त भएपश्चात् उनले पहिलो पटक जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा जानकारी लिएका हुन् ।

जङ्गी अड्डामा आयोजित कार्यक्रममा मन्त्री राईसमक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारे जानकारी गराइएको थियो ।

कायममुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलले रक्षामन्त्री राईलाई नेपाली सेनाका सकलदर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गरेका थिए ।

रक्षामन्त्री राईले राष्ट्र सेवाप्रति अविचलित समर्पण तथा यस क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको उल्लेख गरे । समग्र राष्ट्रको, सेनाप्रतिको भरोसालाई कायमै राख्दै आफूलाई प्राप्त संविधानप्रदत्त जिम्मेवारीहरू एवम् अन्य सबै प्रकारका चुनौतीपूर्ण कार्यहरू निर्वाह गर्न भविष्यमा पनि नेपाली सेना सफल हुनेमा विश्वस्त रहेको उनले बताए ।

उनले नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गरिरहने कुरा बताउँदै उच्च हौसलासहित कर्तव्यपथमा समर्पित रहिरहन नेपाली सेनाका सकलदर्जालाई आह्वान गरे ।

उक्त कार्यक्रममा रक्षासचिव रामेश्वर दङ्गालले नेपाली सेनाको समयसापेक्ष क्षमता विकास एवम् आधुनिकीकरण, दीर्घकालीन सोच-२०८७ को सफल कार्यान्वयन, विकास निर्माणका कार्यहरूमा सहजीकरणका लागि नेपाली सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेटलगायतका विषयहरूमा सहयोग एवम् सहजीकरणका लागि मन्त्रालय प्रतिबद्ध रहेको जानकारी गराए ।

कायममुकायम प्रधानसेनापति रथी सिग्देलले गौरवशाली संस्थाको परम्पराअनुरूप सङ्गठनलाई अगाडि बढाउन अग्रजहरूको अथक प्रयासबाट स्थापित नेपाली सेनाका मूल्य र मान्यतालाई अझ मजबुत र संस्थागत गर्ने तर्फ आफ्नो निरन्तर पहल रहने बताए ।

उनले नेपाली सेनाको अपरेशनल क्षमता थप अभिवृद्धि गर्न श्री रक्षा मन्त्रालयबाट प्राप्त साथ, सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत रक्षा मन्त्रालय तथा नेपाली सेनाबिचको सम्बन्ध थप प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको आरम्भमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत मन्तव्य दिएका थिए । त्यस अवसरमा रथीहरूका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *