प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन गृहकार्य तीव्र

सेवा अवधिका कारण भदौ १५ देखि एकसाथ करिब सय जना सिनियर प्रहरी अवकाशमा जाँदै

लामो समयदेखि चर्चामा रहेको नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रयाेजनार्थ गृहकार्य तीव्र पारिएको छ । सेवा अवधि हटाउने प्रावधानसहित गृह मन्त्रालयले संघीय प्रहरी ऐन निर्माण प्रक्रिया अघि बढाएको हाे ।

एक महिनाभित्र ऐनका लागि तयार विधेयक संसदमा पेस गर्ने गरी गृहकार्य भइरहेकाे छ मन्त्रालयले जनाएकाे छ ।

गृहमन्त्री रमेश लेखकले जिम्मेवारी सम्हालेलगत्तै मातहत कार्यालयको ‘ब्रिफिङ’ लिँदा महिना दिनभित्र विधेयक संसदमा पेस गरिने बताएका थिए । त्यसपछि विधेयकका सम्बन्धमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा पटकपटक दफवार छलफल भएका छन् ।

मन्त्रालयका एक अधिकारीका अनुसार संघीय प्रहरी ऐन निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढेको छ ।

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले २०७९ मंसिरमै सैद्धान्तिक सहमति दिएको थियो । तर, कानुन मन्त्रालयको सहमति भने लिन बाँकी छ । गृह मन्त्रालयका अनुसार कानुन मन्त्रालयबाट स्वीकृत भएलगत्तै विधेयक मन्त्रिपरिषदमा पेस हुनेछ । मन्त्रिपरिषद बैठकले पारित गरेपछि विधेयक संसदमा पेस हुनेछ ।

संघीय प्रहरी ऐन बन्न नसक्दा संघ र प्रदेशबीच प्रहरी समायोजन हुन सकेको छैन । सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्न चार वर्षअघि नै ‘प्रहरी कर्मचारी समायोजन ऐन, २०७६’ निर्माण गरिसकेको छ ।

त्यस्तै नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय गर्ने सम्बन्ध (नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६) मा पनि चार वर्षअघि नै ऐन बनेको छ । सोही ऐनअनुसार प्रहरी समायोजन गर्न भन्दै सातै प्रदेशका मुख्यमन्त्रीले सरकारसँग पटकपटक आग्रह गरेका छन् ।

यस्तै ३० वर्षे सेवा अवधिका कारण आगामी भदौ १५ देखि एकसाथ करिब एक सय जना सिनियर प्रहरी अधिकृत अवकाशमा जाँदै छन् ।

३० वर्षे सेवाहदका कारण ५४-५५ वर्षमै धेरै उच्च प्रहरी अधिकारीले अवकाश पाउँदा राज्यले दक्ष जनशक्ति गुमाउने गरेको छ । अर्काेतर्फ भर्ना प्रक्रियामा राज्यको खर्च हुन्छ भने पेन्सनको भार पनि बढ्ने गरेको छ ।

वर्षे सेवाहदका कारण डीआईजी विष्णु केसीसहित करिब सय जनाले आगामी १५ भदौदेखि अवकाश पाउँदै छन् । यसमा १२ एसएसपी छन्  । एसएसपीहरू जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई, रवीन्द्र रेग्मीले एकैदिन अवकाश पाउनेछन् ।

त्यस्तै ११ एसपीले पनि अवकाश पाउने छन् । कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश विष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकनन्द इवा लिम्बू, चित्रबहादुर गुरूङ, नवीनकिशोर प्रधानले अवकाश पाउन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *