भारतीय विदेशसचिवसँगको भेटमा परराष्ट्रमन्त्री राणाले उठाएका विषय

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले सोमबार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक एवम् विकास सहायता तथा आयोजनाहरूलगायत बारे छलफल भएको थियो ।

वार्ताका क्रममा मन्त्री डा. राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाएकी थिइन् ।

नेपालले खासगरी भैरहवा र पोखरा विमानस्थल नियमित सञ्चालनमा हवाई रूटको चुनौती भोगिरहेको छ । यी दुवै विमानस्थलमा आउने जहाजले सिमरा रूटकै भर पर्नुपरेको छ ।

नेपालले नेपालगञ्ज र महेन्द्रनगरसहितका नयाँ रूटबाट हवाई जहाज प्रवेशका लागि यसघिदेखि नै भारतसँग आग्रह गर्दै आएको छ ।

त्यस भेटका क्रममा मन्त्री डा. राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएकी थिइन् ।

भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउनेबारे मन्त्री राणाले उठाएको विषयमा धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गर्ने गरी छलफल भएको छ ।

त्यसैगरी मन्त्री डा. राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलाको पुल उद्घाटनबारे पनि छलफल गरेकी थिइन् ।

यस्तै व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी भएको थियो ।

मन्त्री डा. राणाले २०८० असोजमा गएको जाजरकोट भूकम्पमा परेका पीडितहरूको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *