नतिजामूलक काम नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनीसमेत दिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो चेतवानी दिएका हुन् ।

मन्त्री भण्डारीले भने, ‘एक दिनमा के गर्नुभयो नयाँ काम भनेर हेरिन्छ । आज दिनभरिको कामको परिणाम के आयो ? त्यसको परिणाममुखी कामहरू, त्यो काम भनेको कागजमा लेखेर भरेको काम होइन, परिणाम आयो कि आएन ? परिणाम आएन भने जिम्मेवारीबाट सबैले छोड्नुपर्ने हुन्छ । मञ्जुर छ नि ? अधिकारको खोजी गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने हुन्छ ।’

मन्त्री भण्डारीले सरकार र सरकारी निकायमाथि उठेका प्रश्नको जवाफ दिने गरी कार्यसम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरूलाई सचेत गराए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले ती पूरा हुने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए ।

उनले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरूको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छाड्नुपर्ने अवस्था आउने पनि बताए । मन्त्री भण्डारीले कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरूले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने बताए ।

मन्त्री भण्डारीले सरकारले मन्त्री, सचिवसहितका सबै उच्चपदस्थ कर्मचारीहरूको दैनिक कामको मूल्यांकन गर्ने पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *