नेपालमा बंगलादेशको बाछिटा : सामाजिक सञ्जालदेखि माइतीघर मण्डलासम्म

सरकारी सेवामा आरक्षण प्रणालीविरूद्धको हिंस्रक प्रदर्शनपछि हालै बंगलादेशमा सरकार प्रमुखले पदबाट राजीनामा दिएर देशै छाड्नुपर्‍याे । सरकारविरोधी प्रदर्शनको दबाब थेग्न नसकेर असुरक्षा महसुस गर्दै पूर्वप्रधानमन्त्री शेख हसिना डेढ दशकको लामो शासनपछि आफ्नै मुलुक छाड्न बाध्य भइन् । अहिले उनी भारतमा शरण लिइरहेकी छन् । बंगलादेशमा सेनाले अन्तरिम सरकार गठन गरेको छ ।

यसअघि सन् २०२१ को अगष्टमा अफगानिस्तानका राष्ट्रपति असरफ घानी र सन् २०२२ को जुलाइमा श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे देश छाडेर भागेका थिए । अफगानिस्तानमा विद्रोही समूह तालिवानको प्रवेश र श्रीलंकामा चरम आर्थिक संकटका कारण भएका प्रदर्शनले राष्ट्रपतिहरूले देश छाडेर भाग्नु परेको थियो ।

यी घटनाक्रमले के पुष्टि गर्दछन् भने जो जतिसुकै शक्तिशाली पदमा रहे पनि जनविद्रोहका अगाडि उसले घुँडा टेक्न बाध्य हुनु नै पर्छ ।

 

पछिल्लो पटक बंगलादेशमा भएको सामाजिक र राजनीतिक उथलपुथलको झोँका नेपालसम्म आइपुगेको छ । वर्तमान राजनीतिक व्यवस्था, भ्रष्ट राजनीति र कर्मचारीतन्त्रदेखि असन्तुष्ट नेपाली नागरिकका रोष निर्धक्क प्रकट हुन थालेका छन् । सामाजिक सञ्जालहरूमा प्रकट भइरहेका नागरिकका बंगलादेश जनविद्रोह समर्थित अभिव्यक्तिले नेपालमा पनि त्यस्तै जनविद्रोह हुने हाे कि भन्ने संशय पनि पैदा गरेको छ । कतिले त विद्रोहको आह्वान पनि गरिरहेका छन् ।

पूर्वसञ्चारकर्मी तथा सामाजिक अभियन्ता रमा सिंह नेतृत्वको एक समूहले भ्रष्टाचारविरूद्ध संयुक्त नागरिक आन्दोलनको आह्वान गरेको छ । उक्त समूहले सम्पूर्ण सामाजिक, आर्थिक र राजनीतिक बेथितिका विरूद्ध आन्दोलनको आह्वान गरेको हो ।

यस्तै हालसालै युवा विद्यार्थीको एक समूहले पनि माइतीघर मण्डलामा प्रदर्शन गर्दै नेपाल बंगलादेशजस्तो हुन सक्ने चेतावनी दिएका थिए । उनीहरूको प्रदर्शनको विषय फरक थियो तर प्रदर्शनका क्रममा उनीहरूले बंगलादेशको उदाहरण दिएका थिए ।

नेपाल अहिले आर्थिक संकटमा छ । सार्वजनिक ऋण अकासिएको छ । प्रतिनेपालीको थाप्लोमा ८३ हजार ४३१ रूपैयाँ सार्वजनिक ऋण छ । यहीबीच भ्रष्टाचार, बेथिति, महँगी भने झनझन बढ्दो छ । भ्रष्ट राजनीति र कर्मचारीतन्त्रका कारण नागरिकले पाउनु दुःख पाएका छन् । परिणामतः नागरिकहरूको असन्तुष्टि पोखिइरहेको छ ।

सामाजिक सञ्जाल ‘एक्स’ मा निर्मल प्रसाईं नामका प्रयोगकर्ताले परिवारवाद, महँगी, बेरोजगारी, भ्रष्टाचारविरूद्धका सामाजिक आन्दोलन श्रीलंका हुँदै बंगलादेश पुगेको भन्दै नेपालका नेतृत्वकर्तालाई यसको चेतना लिन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘परिवारवाद, महँगी, बेरोजगारी, भ्रष्टाचारविरूद्धका सामाजिक आन्दोलन श्रीलंका हुँदै नेपालबाट केही किलोमिटर पर बंगलादेश सम्म आइपुग्यो । हाम्रो नेतृत्वले चेतना लिओस्, नेपाल आफैंमा व्यवस्था गरिरहने देश हो ।’

यस्तै केशव दाहाल नामका प्रयोगकर्ताले श्रीलंका र बंगालदेशको उदाहरण दिँदै सबै कुराले सीमा नाघ्नुअघि नै सोच्न नेताहरूलाई चेतावनी दिएका छन् ।

उनी लेख्छन्, ‘बंगलादेश नेपालबाट टाढा छैन । मेचीबाट मात्र २५ किलोमिटर । श्रीलंकाभन्दा धेरै नजिक छ बंगलादेश । सबैकुराले सीमा नाघ्नु अगाडि नै नेताहरूले सोचून्, अन्यथा कहिलेकाँही भागेर पनि कतै पुगिँदैन । र, समयले साथ छोड्यो भने भिडमा विचरा भन्ने पनि कोही भेटिँदैन । कृपया इतिहाससँग नखेलौं, यो निर्मम हुन्छ ।’

टंक खनाल नामका अर्का प्रयोगकर्ता नेपालबाट सुरू भएको सडक क्रान्ति अहिले बंगलादेश पुगेको र यो कहाँ पुगेर रोकिन्छ भन्न नसिकने तर्क गर्छन् । उनले लेखेका छन्, ‘नेपालबाट सुरू भएको सडक क्रान्ति दक्षिण एसियाका अन्य मुलुक हुँदै अहिले बंगलादेश पुगेको छ । कहाँ पुगेर रोकिने हो दैवै जानून् !’

तर, कृष्ण घिमिरे नामका प्रयोगकर्ताको मत भने फरक छ । नेपालमा विद्रोह नै भए पनि श्रीलंका र बंगलादेशमा जस्तो नहुने उनको बुझाइ छ ।

उनले लेखेका छन्, ‘नेपालबाट नेता भाग्ने भगाउने कथा मात्रै हो, बंगलादेश/श्रीलंकाजस्तो हुँदैन । आन्दोलन चर्कियो, अधिकांश जनता सडकमा आए भने अहिलेकै नेताहरू धाप मार्दै आन्दोलनको अगुवाइ गर्न सडकमा आउँछन् र फेरि उनै नेता बन्छन्, जसरी मधेस आन्दोलन चर्किँदा कांग्रेस, एमालेका नेता मधेसी दलमा पुगे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *